गाैरवका आयाेजना सरकारकाे प्राथमिकतामा: मन्त्री भण्डारी

बैतडी-उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले गाैरवका आयाेजना अहिलेकाे सरकारकाे प्राथमिकतामा रहेकाे बताउनुभएकाे छ । प्रेस चाैतारी बैतडीले आईतवार  सदरमुकाममा गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उहाँले सुदूरपश्चिममा रहेका गाैरवका आयाेजनालाई प्राथमिकता राखेर काम भइरहेकाे बताउनुभएकाे हाे ।

सरकारको प्राथमिकता अनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको, दोधारा–चाँदनी सुख्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको बताउदै कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने महत्त्वपूर्ण निर्णय भएकाे दाबी गर्नुभयाे ।

नेकपा एमालेकाे सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहनुभएका मन्त्री भण्डारीले सरकारले औद्योगिक क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको र वाणिज्य नितीमा केही परिमार्जन गरिने उद्घाेष गर्नुभयाे । उक्त नीतिमा परिमार्जन गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीको भारत भ्रमणका बेला राखिने बताउनुभयाे ।

उहाँले नेपाल-भारत सीमानाका झुलाघाटमा पक्की पुलका साथै महाकाली नदीमा अन्य स्थानमा पनि पुल बनाउन पहल भइरहेकाे जनाउनुभयाे।

बैतडीमा रहेका खानीहरूकाे पहिचान गरि ती खानीहरुको उत्खनन गरिने भण्डारीकाे भनाई छ । पाटनमा ११ महिनादेखि बन्द रहेकाे हवाई सेवा पुनः सञ्चालन गरिने समेत बताउनुभयाे।

सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको जनाउदै मन्त्री भण्डारीले कर्मचारी अभाव हुन नदिने दाबी गर्नुभयाे ।

मन्त्री भएपश्चात पहिलोपटक गृहजिल्ला पुग्नुभएका भण्डारीलाई भव्य स्वागत र सम्मान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.