नाथ तिमीले आखिर के नै पो पायौ र
तिम्रा पञ्चतत्वले बनेको शरिरमा,
केवल तिम्रो मात्र हक छ नाथ,
नरश्वर मेरो देह त,
केवल तिम्रो लिला न हो,
तिमीले खेलाएको खेल न हो,
मेरो नियन्त्रणमा हुँदा,
घमण्डले बढेको विश्वास,
सत्यतासँग ठोकिदा,
बज्रपात हुदोरहेछ,
मैले मेरा मानेका पञ्चतत्वहरु,
मेरो नियन्त्रणमा हुँदा मेरा जस्तै लाग्ने,
तिमीले चाहदा त,
पुरै तिम्रा हुने रहेछन,
हे नाथ बडो अचम्मको,
बडो विचित्रको रहेछ तिम्रो नियम पनि,
मेरो “म” नभएपछि,
दुनियाले “म” सँग जोडेको,
चारवटै पञ्चतत्व,
तिम्रा हुकुमद्वारा छुट्टीएको,
पार्थिव शरिरमात्रै,
तिम्रो आगनमा खरानी बन्दो रहेछ,
तिमीमा त हावासरी धुँवा मात्र बग्दो रहेछ,
हे नाथ “म” तिमी नै हुँ कि,
पञ्चतत्व तिम्रा नै हुन कि,
मेरो “म” लाई भ्रम मात्रै हो कि,
मलाई के थाहा छ र,
तिमीले के के पो नाटक लेख्यौ,
तिमीले के के पो चाह्यौ,
यति भार तिमीलाई बोकाउने शरिरबाट,
तिमीले आखिर के नै पो पायौ,
मेरो प्राणनाथ,
मेरो भोलेनाथ,
जगदिश प्रसाद जोशी