बैतडीको मेलौली नगरपालिका–०८ कोटिगाउँमा जंगली जनावर बाघको आतंक बढ्दै गएको छ। पछिल्ला दिनमा बाघले गाउँमै पसेर दिनदहाडै बाख्रा आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
हिजो कोटिगाउँ बसुला निवासी बेसन सिंह ठगुन्नाका तीन वटा बाख्रा (खसि) जंगलमा चरिरहेका बेला बाघले आक्रमण गरी मारेको हो। बाघले बाख्राको रगत पिएर बाँकी भाग त्यत्तिकै छाडिदिएको स्थानीय तथा शिक्षक बिरुवा राम लुहारले जानकारी दिनुभयो।
लगातार बाघको आक्रमण हुन थालेपछि खसी–बाख्रा पालन गर्दै आएका किसानहरूमा निराशा छाएको छ। गाउँ नजिकै दिनदहाडै यस्तो घटना हुन थालेपछि स्थानीयवासीहरूमा त्रास बढेको छ भने बालबालिका र पशु चौपायालाई बाहिर लैजान समेत डर लाग्न थालेको छ।
स्थानीयहरूले सम्बन्धित निकायसँग बाघ नियन्त्रण तथा सुरक्षाका उपाय अपनाउन माग गरेका छन्। जंगल क्षेत्र नजिक बसोबास गर्ने बासिन्दाले यस्ता घटनाले जीविकोपार्जनमै असर परेको गुनासो गरेका छन्।