बैतडी-बैतडीको शिवनाथ गाउँपालिका–६ स्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भएको “शुभकामना कप खुल्ला पुरुष भलिबल प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन तथा सामुदायिक एकता सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा सागर स्पोर्टस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।
प्रतियोगितामा बझाङ टाइगर्सले दोस्रो स्थान हासिल गर्दा सोलमारी तिताबै तेस्रो स्थानमा सीमित भएको राष्ट्रिय रेफ्री धिरज चन्दले जानकारी दिनुभयो। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहेको थियो, जसले खेललाई थप रोचक र प्रतिस्पर्धी बनाएको थियो।
विजेता सागर स्पोर्टस क्लबले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बझाङ टाइगर्सले ३३ हजार ३३३ रुपैयाँ र तृतीय स्थान हासिल गर्ने सोलमारी तिताबैले २२ हजार २२२ रुपैयाँसहित ट्रफी र मेडल हात पारेका छन्।
कृष्ण आधारभूत विद्यालयको आयोजनामा तथा कानली सेवा समाजको प्रायोजनामा सम्पन्न प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा गायक शेरी औजी, गायिका सिता पुजारा र कमला नेपाली लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आपसी भाइचारा, सहकार्य र सामुदायिक एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक र व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको समेत जानकारी दिइएको छ।