बैतडीमा बिसु पर्वको धूम, नयाँ वर्षको पहिलो दिन उल्लासमय

बैतडीसहित सुदूरपश्चिममा नयाँ वर्ष २०८३ को आज पहिलो दिन बिसु पर्वको रुपमा धुमधाम संग मनाइँदै छ। बैशाख १ गते सुदूरपश्चिमेलीहरुले बिसु पर्वको रुपमा मनाउने गर्दछन्। रोजगारी र अध्ययन तथा अन्य कामका लागि घर बाहीर रहेकाहरु गाउँ फर्किएपछि बिसुको रौनकता छाएको छ।

बैतडीसहित डडेल्धुरा, बझाङ्, दार्चुला, डोटी, अछाम, बाजुरा लगायत जिल्लाका स्थानीयहरुले यो बिसु पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन्। पछिल्लो समय सुदूरपहाडमा मात्रै नभएर तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ 

बिसु पर्व सबै पर्व मध्येको जेठो र महत्वपूर्ण पर्व हो। यो पर्वमा प्रदेश गएकाहरु पनि गाउँघर आएकाले बिसुको छुट्टै प्रकारको रौनकता छाएको मेलौली नगरपालिका ८ कोटिगाँउका स्थानिय एवं शिक्षक बिरुवा राम लुहारले बताउनुभयो।

यस्तै यो पर्वका धार्मीक तथा साँस्कृतिक महत्वहरु पनि रहि आएका छन्। बिहानै नुवाईधुवाई गरेर विभिन्न मठमन्दिरहरुमा पूजाआजा गर्ने गरिन्छ। बिसु पर्वको बिहान बिस बग्यो, बिस बग्यो भन्दै स्नान गर्ने चलन रहि आएको छ। यसले शरिरको सबै बिस पखालिने विश्वसा रहिएको लुहारले बताउनुभयो।

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र साथै सिस्नो लगाउने चलन पनि रहि आएको छ। देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर पनि यो पर्व मनाउने गरिएको छ। देवर नहुने र नन्दन हुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउँछन् ।

बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने गरिएको संस्कृतिका जानकार बताउँछन्। बिसुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने जनविश्वास रहिआएको छ।

Leave A Reply

Your email address will not be published.