मेलौलीमा नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सुरु, १० टिम प्रतिस्पर्धामा

बैतडी: नयाँ वर्ष २०८३ को पावन अवसर पारेर बैतडीको मेलौलीमा आजदेखि नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ। भरतपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका–०७ गाउँकोटको आयोजनामा तथा चमक दे समाज सेवा युवा क्लबको प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो।

भरतपुर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रम जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा नगरभित्रका गरी १० वटा टिमहरूको सहभागिता रहेको छ। प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन अनुभवी अम्पायर तथा प्राविधिक टोलीको व्यवस्था गरिएको छ।

प्रतियोगितामा विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

स्थानीय युवाहरूमा खेलप्रतिको रुचि बढाउने, प्रतिभा पहिचान गर्ने र सामाजिक एकता मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले मेलौली क्षेत्रमा खेलकुद विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतियोगिता आगामी केही दिनसम्म सञ्चालन हुने छ र फाइनल खेल विशेष कार्यक्रमका साथ सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.