बैतडीको मेलौलीमा सञ्चालन भएको नगरस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। भरतपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका–०७ गाउँकोटको आयोजनामा तथा चमक दे समाज सेवा युवा क्लब को प्रायोजनमा प्रतियोगिता सम्पन्न गरिएको हो।
प्रतियोगितामा मेलौली एलो डेबिजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ भने आयोजक टोली उपविजेतामा सीमित बनेको छ। विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।
प्रतियोगितामा नगरभित्रका १० वटा टोलीहरूको सहभागिता रहेको थियो। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
स्थानीय युवाहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने, नयाँ प्रतिभा पहिचान गर्ने तथा सामाजिक एकता मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगिताले मेलौली क्षेत्रमा खेलकुद विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास आयोजक पक्षले लिएको छ।
कार्यक्रमका क्रममा स्थानीय अभिभावक, खेलप्रेमी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाउँदै लैजाने योजना समेत आयोजकले सार्वजनिक गरेको छ।