बैतडी -हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि शनिवार मेलौली सहित विभिन्न शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ।
दर्शनार्थीहरूको शिवालयहरूमा विहानैदेखि घुइँचो लाग्ने गर्छ ।
मेलौली ,खोडपे, पाटन ६ को स्वर्गेनी पिपल, रामेश्वर धाम, पत्ताल भुवनेश्वर धाम बयालाचौर लगायतका क्षेत्रमा शिवरात्रि मेला लाग्ने गर्छ । बैतडी सहित बाह्य जिल्लाका धर्मावलम्भीहरु मेला लाग्ने स्थानमा दर्शनका लागि आउने गर्दछन् ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ ।
व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ मानिन्छन्।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।