डडेल्धुरा- अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टलाई पोषणमैत्री वडा घोषणाको प्रमाणपत्र प्रदान गरे ।
यस्तै प्रमुख अतिथी भण्डारीले पोषणमैत्री बोर्ड पनि अनावरण गरे । स्थानीय तह कार्यान्वय निर्देशिका २०७८ कार्यान्वयन आएपछि देशकै पहिलो वडाका रुपमा वडा नम्बर १० लाई पोषणमैत्री घोषणा गरिएको हो । वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख अतिथी भण्डारीले दिगोपनाका लागि शुभकामना व्यक्त गरे । ‘७६ वटा सूचक पार गर्दै देशकै पहिलो वडाका रुपमा पोषणमैत्री घोषणा गर्न सफल भएकोमा अमरगढी नगरपालिका परिवारलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने ।
कार्यक्रमका विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्टले पोषणमैत्री घोषणा भइसकेपछि अब दिगोपनाका लागि जोड दिन आवश्यक रहेको बताए । ‘सुदूरपश्चिमका सबै वडा र ८८ वटै पालिकामा यो अभियानलाई सफल बनाउनका लागि हामी तत्पर रहेका छौं,’ उनले भने । कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले ०७६ सालदेखि सुरु भएको अभियान ०७९ मा आएर सफल भएकोमा पोषणमैत्री वडा बनाउनका लागि सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । ‘देशकै पहिलो वडा अमरगढी नगरपालिकाको भएको छ भने अब दोस्रो वडा पनि यसै नगरपालिकाको हुनेमा म ढुक्क छु,’ मेयर जोशीले भने ।
कार्यक्रमका सभाध्यक्ष एवंम वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले पोषणमैत्रै वडा बनाउनका लागि सम्पूर्ण वडाबासीले ७६ वटै सूचक पार गरेको बताए । ‘पोषणको अवस्था सुधारका लागि राज्यले गरेका प्रतिवद्वता कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैको हो,’ उनले भने, ‘सोहीअनुसार वडा नम्बर १० पनि पोषणमैत्री वडा घोषणा भएको हो ।’
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले स्वागत मन्तव्यसहित कार्यक्रमको लक्ष्य, उद्येश्य र चुनौतीबारे प्रष्ट पारेका थिए । यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बिष्टले वडाको दिगोपना योजनासहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अमरगढी नगरपालिकाले युरोपियन युनियन, युनिसेफ, युएसएआइडी र सु–आहाराको सहयोगमा ०७६ सालदेखि थालेको अभियानअन्तर्गत वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकिय प्रवन्ध गरी सात वटा विषयका ७६ वटा सूचकमा सन्तोषजनक नजिता देखिएपछि वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।
हाल वडामा रहेका ३ सय २० घरधुरीमा शुद्ध खानेपानीका लागि फिल्टर, सरसफाइका क्षेत्रमा भाडा धुने र सुकाउने च्याङ्ग, जुठ्यान, करेसाबारी, कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि खाल्टा रहेको छ । यस्तै गर्भपतिले स्वास्थ्य संस्थामा नियमित ८ पटकसम्म चेकजाँच गर्दै आएका छन् भने विद्यालयमा विद्यालय नर्स, गर्भवती र महिनावारी भएकालाई अनिवार्य रुपमा आईरन चक्की सेवन, धुवारहित चुलाको प्रयोग, विद्यार्थीलाई घरमा पकाइएको खाना अनिवार्य रुपमा खुवाउने गरेका छन् ।
यस्तै, नगरपालिकाले देशमै पहिलो वडाका रुपमा वडा नम्बर १० पोषणमैत्री घोषणा भएको दाबी गरेको छ । सरकारले पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका ल्याउनुअघि भने अछामका २ वडालाई पोषणमैत्री घोषणा गरिएको थियो ।