नेपाली कांग्रेस बैतडीको जिल्ला सम्मेलन भोलि पाटनमा हुने

बैतडी-नेपाली कांग्रेस बैतडीको पहिलो जिल्ला सम्मेलन भोलि हुने भएको छ। जिल्लाको पाटनमा सम्मेलन सम्पन्न हुने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए। नेपाली कांग्रेसको विधान अनुसार पहिलो पटक जिल्ला सम्मेलन हुन लागेको उनले बताए।

भोलि हुने जिल्ला सम्मेलनको तयारी पूरा भएको सचिव चन्दले बताए। वडा सम्मेलन, पालिका सम्मेलन र क्षेत्रीय सम्मेलन सम्पन्न भएपछि जिल्ला सम्मेलन हुन लागेको हो। नेपाली कांग्रेसको विधानमा बर्षमा दुई पटक वडा सम्मेलन गर्नुपर्ने, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलन बर्षमा एक पटक गर्नुपर्ने व्यवस्था रहेको छ।

सम्मेलनमा संगठन विस्तार, क्रियाशील सदस्यता, पार्टीले गरेको काम कारवाहीका बारेमा समीक्षा गरिने नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए। नेपाली कांग्रेसलाई चलायमान बनाउन जिल्ला सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। उनले भने ‘नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन जिल्ला सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ। हामी हाम्रो पार्टीले गरेका कामको बिषयमा समीक्षा गरेर अघि बढ्छौं।’

८४ ओटै वडाका सम्मेलन, १० ओटा पालिकाका सम्मेलन र दुईटै प्रदेश सभा क्षेत्रका क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावहरुलाई जिल्ला सम्मेलनमा छलफल गरिने सचिव चन्दले बताए। उनले भने ‘सम्मेलनमा पार्टीको आगामी कार्यदिशाका लागि घनीभूत रुपमा छलफल हुन्छ।’

सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला प्रतिनिधिहरुका साथै वडा, पालिका र क्षेत्रका पदाधिकारी र क्रियाशील सदस्यहरुको सहभागिता रहनेछ। यस्तै नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको सचिव चन्दले बताए।

जिल्ला सम्मेलनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओड बैतडी आउने बताइएको छ। सम्मेलनले पार्टीका लागि आगामी कार्यदिशा तय गर्ने जिल्ला सचिव चन्दले बताए।

Leave A Reply

Your email address will not be published.