दार्चुलाको खाद्य कार्यालयमा चामल सकियो, बिक्री कक्ष बन्द

दार्चुला– दार्चुलाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएको छ । चामल सकिएपछि खलंगास्थित शाखा कार्यालय बन्द गरिएको छ । कार्यालयको गोदाममा चामल मौज्दात छैन भने बिक्री कक्षमा बुधवार दिउँसोपछि चामल सकिएको छ ।

बिक्री कक्ष बन्द गरेर कर्मचारी कागजात मिलाउने काममा लागेको कार्यालयले जनाएको छ । एक वर्ष अगाडिबाट पुनः सञ्चालनमा आएको शाखा कार्यालयले दैनिक एक सय बोरा चामल बिक्री गर्दै आए पनि मौज्दात शून्य भएपछि कार्यालय बन्द गर्नुपरेको शाखाका निमित्त प्रमुख रामसागर मेहताले बताए ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीलाई वैशाखदेखि नै मौज्दात सकिन लागेको र समयमै खाद्यान्न ढुवानीका लागि ताकेता गर्दै आएको उनको भनाइ छ ।

 

चालु आर्थिक वर्षलाई प्रादेशिक कार्यालयले दार्चुलाका लागि खाद्यान्न ढुवानीको ठेक्का लगाइसकेको अवस्थामा पनि शाखा कार्यालयसम्म आवश्यक खाद्यान्न ढुवानी हुन पाएको छैन ।

धनगढीबाट अन्य जिल्लामा चामल ढुवानी भइरहेको छ । खाद्य कार्यालयमा चामल मौज्दात नभएपछि बर्खाका दुई महिना चामल अभाव हुने देखिएको छ । यो महिनाको अन्तिमसम्म मात्र चामल ढुवानी हुन सके केही दिनलाई यहाँको समस्या टार्न सकिन्छ ।

नयाँ आर्थिक वर्षलाई चामल ढुवानीको ठेक्का प्रक्रियामै दुई महिना लाग्ने हुँदा साउन र भदौमा चामल ढुवानी हुने सम्भावना न्यून छ ।

 

प्रादेशिक कार्यालय धनगढीको गोदाममा पनि चामल मौज्दात नरहेकाले दार्चुला शाखा कार्यालयलाई यो वर्षका लागि चामल ढुवानी गर्न नसकिने प्रादेशिक कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् ।

Leave A Reply

Your email address will not be published.