बैतडी र धनगढीसहित देशभरका ११ ठाउँमा मनसुनजन्य पूर्वतयारी सामग्री व्यवस्थापन

बैतडी- बैतडी र धनगढीसहित देशभरका ११ ठाउँमा मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का पूर्वतयारी सामग्री व्यवस्थापन गरेको छ । विपदमा आवश्यक खोज, उद्धार तथा पुनर्स्थापना र राहतका लागि आवश्यक पूर्वतयारी गरेको गृह मन्त्रालयले जनाएको हो ।

उद्धार तथा राहत व्यवस्थापनका लागि काठमाडौं, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला गरी ११ ठाउँमा यो तयारी गरिएको गृह मन्त्रालयले जनाएको हो। मानवीय सहायतास्थलबाट आवश्यक क्षेत्रमा राहत पुर्याइनेछ ।

विभिन्न ११ ठाउँमा पाँच हजारभन्दा धेरै टेन्ट, झण्डै १० हजार थान तारकुलिन (छाना), झण्डै ५ हजार थान ब्ल्याङ्केट र झुल तयारी अवस्थामा छ। विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्रतिकार्य कार्यढाँचा २०७५ तयार गरी विभिन्न ११ वटा मन्त्रालय सहभागी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्ययोजना तयार गरेको थियो ।

बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग अवरुद्ध भए तत्काल सञ्चालनका लागि सेनाले चार वटा बेलिब्रिज तयारी अवस्थामा राखेको छ। मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरिएको र यसमा मुख्य भूमिका भने पालिकाको हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए ।

यस वर्षको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ। साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.