धौलिगंगा बाँघ खोलिनेः महाकाली किनारमा नजान आग्रह

महाकाली नदीको जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारत स्थित तपोवन धार्चुलाको धौलिगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो।

वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र पानीको प्रवाह वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगंगा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सर्तकता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“ वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र जुनसुकै बेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ। त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौं । ”

लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने प्रखतरा भएकाले नदि आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको छ।

दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो।

धौलिगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गर्दछ। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ।

वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्द बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो।

Leave A Reply

Your email address will not be published.