बैतडी -मानवसेवा आश्रम धनगढीबाट एक महिला बेपत्ता भएकी छन् । मानसिक सन्तुलन गुमाएकी पञ्चेश्वर गाउँपालिका ४ बस्दै आएकी चम्भा चन्दलाई गत जेठ ७ गते मानवसेवा आश्रम धनगढीमा राखिएको थियो । तर यहि असार १५ गते आश्रमस्थलबाट बेपत्ता भएकी हुन् । यसरी जेठ १५ गते बेपत्ता भएको भनिएपनि मानव सेवा आश्रमले आफन्तहरुलाई भने असार ५ गतेमात्रै जानकारी गराएको पाइएको छ ।
‘हामिलाई बेपत्ता भएको जानकारी गराइएन, असार ५ गते हामि मेट्न गएकाले मात्रै हराएको भनेर भनियो,’ बेपत्ता भएकी चन्दका भाई गम्भिर चन्दले भने ‘प्रहरीलाई समेत जानकारी नगराएको रहेछ, हामिलाई पूर्ण संका लाग्यो,’ उनले भने ।
मानव सेवा आश्रमले मानिस हराएको जस्तो गम्भिर विषयमा लापरवाही गरेको आफन्तको आरोप छ । प्रहरीमा हराएपछि जानकारी नगराएको पुष्टि भएको आफन्त चन्दले बताए । ‘हामिले प्रहरीमा पनि बुझ्यौँ, तर प्रहरीमा जानकारी नरहेछ,’ उनले भने।
चम्भा चन्द बिगत १६ वर्षदेखि मानसिक सन्तुलन गुमाएकी हुन् । उनको घर भारत भएपनि मानसिक सन्तुलन बिग्रिएपछि उनि एक छोरा र एक छोरीसहित माइत पञ्चेश्वर ४ मै बस्दै आएका थिइन् । मानसिक अवस्था ठिक नभएकै कारण पालिकाको समन्वयमा मानव सेवा आश्रममा पठाइएको थियो ।
पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टका अनुसार सेवा आश्रमबाट एक्कासी बेपत्ता भएको खबर आएको र खोज उद्दारको लागि प्रहरी र सेवा केन्द्रसँग पनि समन्वय भइरहेको बताईएको छ ।