बैतडी । सोमबार मेलौलीमा भएको बस दुर्घटनामा मृत्यु भएका र घाईते भएका प्रति मेलौली नगरपालिका-०७ ले दुख ब्यक्त गरेको छ। मंगलबार एक शोक वक्तव्य जारी गर्दै दुख ब्यक्त गरेको हो।
दुर्घटनामा ज्यान गुमाएका ब्यक्तिको चिर शान्तिको कामना र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको वडा अध्यक्ष रामचन्द्र भट्टद्धारा जारी गरिएको शोक वक्तव्यमा उल्लेख गरिएको छ। पञ्चेश्वर गाउंपालिका–३ कुलाउंबाट महेन्द्रनगर जादैं गरेको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका–०७ स्वाखानी पिपलबोट नजिक दुर्घटनामा परेको थियो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार बसमा ४६ जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएका ४५ जनाको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाईएको थियो। डडेल्धुरा अस्पतालमा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको र अन्य १४ जनाको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
यो समाचार तयार पार्दासम्म ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, सगिंता रावत, दिपिका भटट, विसन भट्ट, र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले मेलौली न्यूजलाई जानकारी दिए।
बस कसरी दुर्घटना भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटनाको कारण भने स्पष्ट खुलेको छैन्। घाइतेहरुको उद्धारमा खटीएका अधिकासं प्रत्यक्षदर्शिहरुले भने ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन्। सडक साँघुरो र चिप्लो हुँदा दुर्घटना भएको प्रत्यक्षदर्शिहरुले बताएका छन्।