बैतडी ।
बैतडीको मेलौलीमा ४६ जना सवार बस दुर्घटनाका गम्भीर घाइते १० जना अझै उपचारमै रहेका छन् ।
पञ्चेश्वरबाट महेन्द्रनगर जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सोमबार नै मृत्यु भएको हो ।
घाइते ४५ जनामध्ये गम्भीर अवस्थामा रहेका १० जना अझै उपचाररत रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
गम्भीर अवस्थामा रहेका एकजनाको धनगढीमा पनि उपचार हुन नसकेपछि बरेली रेफर गरिएको छ ।
चारजना डडेल्धुरा अस्पताल र पाँच जना धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत रहेका प्रवक्ता खत्रीले बताउनुभयो ।
चालक पञ्चेश्वर गाउँपालिका ६ का ३५ वर्षीय देवसिंह भण्डारीलाई बरेली पठाइएको छ ।
गोरख साउँद, मानविर साउँद, सगिंता रावत, दिपिका भट्ट,विसन भट्टको धनगढीमा र कृष्णा शाही,खडक बहादुर चन्द,सेतु चन्द र बिनोद दमाईको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उपचाररत सबैको गम्भीर रुपमा रहेका भएपनि अवस्था खतरामुक्त रहेको प्रवक्ता खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,“उपचाररत दशै जनाको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएका छन्,चालकको छातीमा बढी समस्या देखिएकोले बरेली पठाइएको छ ।” अन्य घाइतेहरु डिस्चार्ज भइसकेका छन् ।
ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ ।