बैतडी । बैतडीको पाटन–मेलौली सडकखण्ड अन्र्तगत पाटन नगरपालिका-६ अड्तोलामा जीप दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जीप मंगलबार राती साढे ९ बजे अड्तोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते हुनेहरुमा बैतडीको शिवनाथ गाउँपालिका १ का प्रकाश चाँड र उनकी ५ वर्षीया छोरी अनुस्का चाँड रहेका छन्। प्रकाशको टाउको र अनुस्काको हातमा चोट रहेको छ।
घाइते दुबै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त जीप नालामा खसेको छ । जीपमा सवार ११ जना रहेका भएपनि अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ।
जीपका चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।