बैतडी । बैतडीको मेलौलीमा धार्मिक गुरुहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएको आर्थिक सहयोग र भिएसओ, पिसविनको सयुक्त साझेदारीमा विहिबार कार्यक्रम सम्पन्न भएको हो।
नगर उप–प्रमुख पार्वती बोहरा विष्टको अध्यक्षतामा र नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आथित्थतामा बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरूसँग एक दिने अन्तरक्रिया सम्पन्न भएको भिएसओ, पिसविन बैतडीका जिल्ला कार्यक्रम अधिकृत कृष्ण दत्त भट्टले जानकारी दिए।
बालविवाह जस्ता हानिकारक प्रचलन हटाउनका लागि कार्यक्रम गरिएको उनले बताए। उनले भने, ‘बालविवाहका कारण समग्र मानिसको जीवन नै समस्यामा पर्ने भएकाले बालविवाह अन्त्यका लागि यो कार्यक्रम आयाजना गरिएको हो।
कार्यक्रममा बोल्दै मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले समाजमा हुने गरेको बालविवाह अन्त्यका लागि संस्थाले ठूलो भूमिका खेलेको बताए। उनले भने ‘परिवर्तन भन्ने कुरा एकैचोटी हुँदैन। बालविवाह न्यूनीकरणका लागि समाजमा जुन प्रयास भईरहेको छ। त्यो निकै सराहनीय छ।’
कार्यक्रमको सहजीकरण महिला हिंसा विरुद्ध अन्तर धार्मिक संजाल (निरन) नेपालका सदस्य तर्थराज राई र देवि लम्सालले गनुभएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष किशोरी सहजकर्ताको समेत उपस्थिति रहेको थियो।
जिल्लाका विभिन्न ठाउँमा किशोर किशोरी समूह गठन गरेर बालविवाहले पार्ने असरका बारेमा रुपान्तरण कक्षा सञ्चालन भईरहेका भिएसओ, पिसविन बैतडीका जिल्ला कार्यक्रम अधिकृत भट्टले बताए। अहिले जिल्लाका ४ ओटा स्थानीय तहमा २४ ओटा समूह गठन गरेर बालविवाह अन्त्यका लागि छलफल र अन्तरक्रिया गर्ने गरिएको छ।