चाडपर्वलाई लक्षित गर्दै बैतडीका छ स्थानमा सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दशैं र तिहारको बेला यात्रुहरुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने उद्देश्यले भारतसंगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ,गोकुलेश्वर,पाटन र खोडपेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

चाडपर्वको समयमा यात्रुहरुलाई पर्न सक्ने विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। तोकिएको भन्दा बढी भाडा लिन नदिन, क्षमता भन्दा बढी यात्रु बोक्न नदिन र यात्रुहरुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउनका लागि यात्रु सहायता कक्षमार्फत काम गरिनेछ ।

यस्तै प्रहरीको एक सय नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ। सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुईजना सुरक्षाकर्मी खटिएका छन्।

छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ। दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालय ब‌ैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.