बैतडी। स्क्रब टाइफसको संक्रमणका कारण बैतडीमा बिहीबार एक बृद्धको मृत्यु भएको छ। मृत्युु हुनेमा दोगडाकेदार गाउँपालिका-६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारी रहेका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिनुभयो।
उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। यसका साथै ती बृद्धको रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीको समस्या पनि देखा परेको डाक्टर चालिसेले बताउनुभयो।
अक्सिजनको कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उहाँको मृत्यु भएको आफन्तले बताएका छन्। माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्दछ। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको आग्रह छ।
स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ। टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निने जस्ता लक्षण देखा पर्न थाल्छन्। बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउने जस्ता समस्या बढ्न थाल्छन्।