बैतडी-प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट
आजदेखि बैतडीमा शुरू भएको छ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा उद्घाटन खेलमा दार्चुला र डडेल्धुरा भिडिरहेका छन्। दार्चुलाले टस जितेर ब्याटिङ गरिरहेको छ।
यसअघि प्रतियोगिताको एक कार्यक्रम गरेर उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी लगायतको उपस्थिति रहेको थियोे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।
प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी छन् ।गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।
प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो ।प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस ८ गते दार्चुला र डडेल्धुरा खेल्नेछन् ।
ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।
खेलाडीहरूको क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।यसअघि सुदूरपश्चिम प्रदेशमा महिला छनौटका लागि पनि यस्तै प्रतियोगिता आयोजना गरिएको थियोे ।