काठमाण्डौ–नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक तथा वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन भएको छ । ८८ वर्षीय पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले ग्रस्त हुनुहुन्थ्यो ।
राष्ट्रिय समाचार समितिको संवाददाताबाट सेवा गर्दै कायममुकायम महाप्रबन्धकसमेत हुनुभएका पोखरेलले गोरखापत्रको प्रधानसम्पादकको भूमिका पनि निर्वाह गर्नुभएको थियो । नेपाली र अङ्ग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने स्व। पोखरेल मानव अधिकार आयोगको सदस्यसमेत बन्नुभएको थियो ।
उहाँ पूर्वीय दर्शनका प्रख्यात विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका साइँलो छोरा हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
नेपाल प्रेस इन्स्टिच्युटले एक विज्ञप्ति निकालेर पोखरेलको निधनबाट नेपाली पत्रकारितामा अपूरणीय क्षति भएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको भोलि मङ्गलवार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।