आज पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना

आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्नसक्ने अनुमान छ।

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसोदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो।

कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो। आज तराईका केही ठाउँमा हुस्सु लागेको भए पनि हिजो अस्तिको भन्दा कम रहेको मौसमविद्ले बताएका छन्।

अबका तीन दिन विशेष गरी पश्चिमी भेगसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ। आज र भोलि तापक्रम घटेर देशभर चिसो बढ्न सक्ने मौसमविद् नगरकोटीले बताउनुभयो।

पर्सि शुक्रवारदेखि क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने अनुमान छ। आज काठमाण्डौ उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो। आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

Leave A Reply

Your email address will not be published.