बैतडी । बैतडीसहित सुदूरपश्चिममा लामो समयपछि हिउँदे बर्षा भएको छ। बुधबार रातिदेखि हिउँदे बर्षा भएको हो। गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो। सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए।
लामो समयपछि भएको हिउँदे बर्षाले बालीनालीमा फाइदा पुर्याएको छ। यो बर्षाले गहुँबाली, तरकारी बाली र फलफूलका बिरुवाहरु हुर्कन सहयोग पुग्ने अपेक्षा गरिएको छ। लामो समयपछि भएको हिउँदे बर्षाले सिँचाइको काम गरेको र हिउँदेबालीका लागि निकै लाभदायक भएको मेलौली-८ का किसान लक्ष्मण राम लुहारले बताए।
खडेरीले सुक्नै लागेको बालीमा यो बर्षाले फाइदा पुगेको छ। हिउँदे बर्षासँगै उच्च लेकाली क्षेत्रहरुमा हिमपात पनि शुरु भएको छ। बैतडीको खोड्पे, श्रीभावर लगायतका क्षेत्रमा हल्का हिमपात हुन थालेको स्थानीयहरुले बताएका छन्। बर्षा र हिमपातले चिसो बढ्न थालेको छ।
चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।