देशभरि ३९ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा

आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो।

यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो। गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो।

देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ। सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ। १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो।

यस्तै गण्डकी प्रदेशमा ४९।७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४।४ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ। बागमती प्रदेशमा ४०।२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको विभागले जनाएको छ।

सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ। ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो।

Leave A Reply

Your email address will not be published.