प्रिय बुबा ,‘म आज जे छु, तपाई ले हिजो गरेको कर्मको कारणले छु” ।
कुशे औशी अर्थात जीवन मार्गदर्शक लाई श्रद्धापुर्वक नमन गर्ने दिन ! आज तपाईंको मुख हेर्ने दिन रहेछ बुबा ।म तपाईं भन्दा टाढा छु ।जसले आफ्नो सपना छाडी सन्ततिको सपना पूरा गर्ने सङ्कल्प सहित दृढ रहन्छन त्यस्ता महान पुरुषका लागि जीवन भरीको श्रद्धा, सम्मान पनि अपुरो हुन्छ अधुरो हुन्छ तैपनि यो विशेष दिन बाबाका लागि !
बाबा,तपाईंको लागि भनेर मैले शुभकामना दिन धेरै शब्दहरू खोजिरहे, तर कुनै शब्दले पनि तपाईंलाई शुभकामना दिन सकिन, किनकि मेरा लागि बुबा शब्द बाहेक अरु कुनै शब्द नै भेटिन कि ती शब्दहरू प्रयोग गर्न सकुँ ।
मैले धेरै पढेँ आमाका बेदनाका कथाहरू, तर कहिल्यै पनि पढिनँ बा का अनुहारमा सलबलाएका दुःख बक्र रेखाहरू। हुन त आमाको जति चर्चा परिचर्चा बुबाबारे भएको पाइन्न ।बुबाको बारेमा प्रसङग कमै मात्रामा आउने गर्छ ।आमाले जसरी दश महिनासम्म अनेकौ दुख कष्ट सहेर गर्भमा हुर्काउछिन् र यस धर्तीमा आगमन गराउँछिन् ।त्यसपछि बुवाको सन्तान प्रतिको जिम्मेवारी उसैगरी बढेर जान्छ त्यसैले बुबालाई मुख हेर्ने दिनको शुभकामना !
बुबाको मुख हेर्ने दिन नजिकिदै गर्दा मलार्इ धेरै कुराले उकुस मुकुस गराउछ।हुन त तपाईंलाई यी कुरा पढिरहँदा झिनामसिना लाग्न सक्छन् तर धेरै कुरा सामान्य लागे पनि बुझ्ने कोसिस गर्नुहोस् ।
बुबाकै मुख हेर्ने दिन बिहानै उठेर बुबालाई फोन गरेर ‘ह्याप्पी फादर्स डे’ भनेँ बाबाले बुझ्नुभएन । फेरि पनि ह्याप्पी फादर्स डे’ बाबा भनेँ, बा ले राम्रै त भनेको होला भनेर आशिर्वाद छ बाबू भन्नुभयो।
छोरो मान्छे हुँदा आफ्नो बुबालाई कति माया गर्छु भनेर भन्न सजिलो हुँदैन रैछ । तर, धेरै माया गर्छु बुबा ! ठूलो महलमा राख्न नसकुला तपाईलाइ झुपडी मै खुसी भैदिनु।सन्तानले जिम्मेवारी पूरा गर्छन् भनी ढुक्कका साथ लामो समयसम्म बाँचिरहनु फेरि पनि बुबाको मुख हेर्ने दिनको शुभकामना छ बुबा।
प्रिय् बुबा तपाईं किन यति महान हुनुहुन्छ ? तपाईं लाइ लाग्न सक्ला कतै म आफ्नो सन्तानको प्रेमबाट ओल्झिएको त छैन ? यस्तो नसोच्नु है बुबा ! सबैलाई आमाको गीत गाउदा आमासँगै लहरिने बुबालाई बिर्सदा तपाइलाई पीडाले मन भत्भती पोलेको त छैन नि ?
बुबा तपाईंलाई लाग्दो हो तपाईंले भोगेका र गरेका थुप्रै कष्टहरू तिम्रा सन्तान ले देखेनन्। तपार्इले एकान्तमा रोएका आँसु कसैले देखेनन्। तर, एउटा सामान्य परिवारको बुबाले गिटि कुटेर होस् या खेत जोतेर होस् सन्तानको भबिष्यको निम्ति आफ्ना थुप्रै पीडाहरू लुकाएर एक जोर कपडा पनि नफेरी दुःख गरेका हुन्छन् । सन्तानको भबिष्य उज्जल होस भनेर।
परिवार चाहे सामान्य होस् या सम्पन्न को। जस्तोसुकै भए पनि बुबाले दुःख गर्ने आखिर सन्तानको लागि त हो हड्डी घोटेर सन्तानको जीवन रंगीन बनाउने,आफ्नो पसिनाले सन्तानको भबिष्य लेख्ने अनि एक्लै घर चलाउने हिम्मत राख्ने पितालाई फेरि पनि कुशे औशीको शभकामना !
ताते तातेदेखि लिएर कर्मयोगी बनाउदा सम्म आफ्नो सन्तानको लागि हरेक दुःख पीडा सहि संघर्ष गर्ने आखिर पिता त हुन्। जो कोहि पनि ‘पिताको लागि गौरबको कारण बन्न नसके पनि कलङ्कको टीका नबनौँ ।!
कस्तो अचम्म छ है
चोट छोराछोरीलाई लाग्छ तर पीडा बाबालाई
दुःख छोराछोरीलाइ हुन्छ तर आँसु बाबाका खस्छन्
अब त बुबा तपाईं आउदा घरको कुना कुना खोज्ने छु, पत्ता लगाउनु छ दुःख कहाँ लुकाउनु हुन्थ्यो! अनि सोध्नु छ खुशी कुन बजारबाट किनेर ल्याउनुहुन्छ ?
बुबा, यदी यस संसारमा एक व्यक्ति छ जो मलाई साँच्चै प्रेम गर्दछ, मलाइ हेरेर जिउने गर्दछ र मलाई सजिलै आत्मसात गर्छ भने त्यो हो तपार्इ। तपाईंलाई धन्यवाद दिन चाहान्छु तपाईं मेरो प्रेम हुनुहुन्छ ।म तपाईंलाई जीवनभरी खुसी दिन सकुँ, कुशे औशीको फेरि पनि शुभकामना बुबा !
बुबा समय र दुरीले हामिलाई अलग बनाएको छ तर तपाइको साथ,सहयोग, सल्लाह र प्रेम उत्तिकै रहनेछ म तपाईं बिना अधुरो हुनेछु प्यारो बुबा !
अनि बुबा तपाईंले मलाइ हुर्काउनको लागि आफ्नो कोमल हातमा उठाएका फोहोराहरू मेरा यी आँखाले कसरी मध्यनजर गर्न सक्थे र ?
रात दिनको तनाव, घरपरिवारको तनाव,सन्तानको पढाइ लेखाइको तनाव, कति हो कति म सम्हाल्न कहाँ सक्थे र ?
सन्तानको भारले थिचिएका र आफू भोको रहेर भए पनि हामिलाइ खुवाउदा तिम्रो अनुहारमा झल्केका खुसीहरू म कसरी पोख्न सक्छु र ?
एकदिन छोराछोरी बिरामी हुँदा रातभर छटपटाउछौ तर तपाईं बिरामी हुदा छोराछोरीलाई पानी तताएर दिने फुर्सद पनि हुँदैन बुबा ।हुन त आज एकदिन सम्मान देखाएर हुने पनि केही हैन तसर्थ क्षणिक खुसी दिएर हैन सधैँ सम्मान र सुखि बनाएर राख्न सकुँ। दुनियामा हर छोरा मान्छेको भगवान हुन् ‘बुवा’ किनकि हरेक मार्गदर्शनमा कुनै पनि तीखो प्रतिक्रिया होस् या सरल, हरेक कुराको ज्ञान भएका बा नै हुन् ।
आजसम्म धेरै कहानी लेखे! गीत लेखे मुक्तक लेखे ,तर, आजसम्म तपाईलाई एउटा पनि पढेर सुनाउने हिक्मत आएन। न त पढ्नुहोस् भनेर दिए नै ।लाज अनि डर दुबै कुराले पोल्दो रहेछ बुवा।
मुलुक र समाजलाई हानी हुने तथा भोलिका दिनमा आफ्नो बुवा चिनाउन कठिन हुने गरि केही गरेको छैन।समाजमा ठूलो योगदान दिन नसके पनि समाजलाई हानी हुने केही पनि गरेको छैन।
आफ्नो काम मा इमान्दारिता देखाउनुपर्छ भन्ने तपाईंको आदर्शलाई आत्मसात गरेर अगाडि बढेको छु।जीवनमा तपाईंलाई केही दिन नसके पनि तपाईंबाट धेरै कुरा लिएको छु बुवा, तपाईंबाट पाएका आदर्श र ज्ञान गुनका कुरा लाई मनन् गर्दै फेरि पनि कुशे औशी को शुभकामना टक्राउन चाहान्छु।
बा’ तपाईंलाई सम्बोधन गर्ने त मसगँ कुनै शब्द नै छैन तपाइँलाई सधै बुव भनेर बोलाउन पाइराखुँ।शारीरिक रूपले टाढा भए पनि आत्मियता गाढा छ । हजुरको कारण म यो स्थानमा छु । हजुरको मुहारमा सधैभरी खुसी छाओस्, बाँकी दुःख,कष्ट,रोग,पिर,ब्यथा म आफैँ बुझौला अनि सहौला पनि ।
बुबा ,यसपटकको कुशेऔशीमा कोहि बुवाहरू घरबारबिहिन नहुन।मन्दिरको पेटिमा नभेटिउन्। बृद्ध आश्रममा आँसु नखसालुन्। स्वस्थ रहुन्। खुसी रहुन्। परिवारको साथमा रहुन्। सन्तानबाट हेला हैन स्नेह पाउन्।सम्पुर्ण बुबाहरूमा अनि बुबाको भुमिका निभाउने सम्पूर्ण आमाहरूमा पनि कुशे औँशीको शुभकामना सहित हार्दिक नमन !!