बैतडीमा चाडपर्वको समयमा ४ सय प्रहरी परिचालन हुदै

बैतडीमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

चाडपर्वको समयमा जिल्लाभरीका ३४ ओटा प्रहरी युनिटबाट ४ सय प्रहरी खटाइने उनले बताए। सुरक्षा योजना अन्तर्गत चोरीडकैती नियन्त्रण, जुवातास नियन्त्रण, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सीमा नाकाबाट हुनसक्ने अवैध निकासी नियन्त्रण, मेलापर्व सुरक्षा, अवैध मदिरा नियन्त्रण, कालोबजारी नियन्त्रण लगायतका कुराहरु समेटिएका छन्।

यस्तै चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले सडक सुरक्षालाई पनि योजनामा उच्च महत्वका साथ राखिएको प्रहरी निरीक्षक ढुंगानाले बताए। क्षमताभन्दा बढी यात्रु बोक्न नदिने र यात्रुहरुलाई गन्तव्यमा पुग्नका लागि प्रहरीले सहजीकरण गर्ने उनले बताए।

यस्तै यात्रुहरुकै समस्यालाई ध्यानमा राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गर्ने कुरा समेत सुरक्षा योजनामा समेटिएको प्रहरी निरीक्षक ढुंगानाले बताए। चाडपर्वको समयमा विभिन्न खालका अवाञ्छित क्रियाकलाप हुन सक्ने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा प्रहरी निरीक्षक ढुंगानाले जोड दिए।

Leave A Reply

Your email address will not be published.