बैतडीमा महिला स्वास्थ्य स्वयंसेविकाले प्रोत्साहन भत्ता र निःशुल्क उपचार पाउने

बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता र निशुल्क उपचार पाउने भएका छन् । यहाँको पुर्चौडी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

नगरपालिकाभित्र रहेका १ सय २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १२ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले जानकारी दिनुभयो । यसअघि दिँदै आएको प्रोत्साहन भत्तामा रकम थपेर यो बर्षदेखि १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको हो।

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आर्थिक वर्षको अन्त्यतिर प्रोत्साहन भत्ता उपलब्ध गराइने पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा गरिरहेको कामको कदर गर्दै उनीहरुलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय पनि भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो।

पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्यचौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र प्रयोगशाला सेवा निशुल्क उपलब्ध गराइने भएको हो। महिला स्वास्थ्य स्वयंसेविकाहरुले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ।

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन रकम वितरण गरेको छ। गाउँपालिकाभित्रका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ८ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो । गाउँपालिकाभित्र रहेका ८७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ६ लाख ९६ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको हो।

गाउँपालिकाबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको कामको सम्मान गर्दै नगदसहित सम्मान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आगामी वर्षदेखि प्रोत्साहन रकम थप्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेकाले पालिकाकातर्फबाट प्रोत्साहन रकम दिने गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.