अजयमेरुको कोला समैजी मन्दिरलाई १२५ किलोको दाइन, धार्मिक आकर्षण बढ्ने

डडेलधुराको अजमेरु गाउँपालिका-१ मा रहेको धार्मिक तथा ऐतिहासिक मन्दिर कोला समैजीमा १२५ किलोको दमाहा (दाइन) चढाइएको छ। पूर्व राजपरिषद् स्थायी समिति सदस्य स्वर्गीय कर्ण बहादुर भण्डारीका छोरा भक्त भण्डारीले उक्त दमाहा धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मन्दिरमा चढाएका हुन। उनी हाल अमेरिकामा बसोबास गर्दै आएका छन्।

काठमाडौंमा निर्माण गरेको उक्त दमाहा २० गते कोला समैजीको मन्दिरमा स्थानीय धार्मिक व्यक्तिबाट बोकाएर मन्दिरमा पुगाएको हो। उक्त दमाहा यस क्षेत्रकै सबैभन्दा ठूलो र महत्व राख्ने भएकाले कोला समैजीको मन्दिरको शोभा बढाउनका साथै धार्मिक आकर्षण समेत बढ्ने स्थानीयको भनाइ छ।

यो भन्दा पहिला उक्त मन्दिरमा भण्डारी परिवारबाट नै चढाएको १२ किलोको दमाहा मात्रै रहेको थियो। उक्त ऐतिहासिक तथा सबैभन्दा ठूलो दमाहा यस क्षेत्रका मानिसहरूले अजयमेरु(१ को पुइलेक बजारबाट बोकेर बाजागाजासहित मन्दिर पुर्‍याएका हुन्।

सुदुरपश्चिममै पहिलो पटक ठूलो दमाहा चढाइएको पुजारी पण्डित देवराज भट्टले बताए। दमाहाको ४ फिट ५ इन्च उचाइ र ४ फिट ६ इन्च चौडाइ छ। मन्दिरको जीर्णोदारको काम पनि अघि बढेको छ। मन्दिर परिसरमा ढुगां छाप्ने तथा मन्दिरको छानो समेत मर्मत गरिने भएको छ।

मन्दिरमा श्रीपञ्चमी, चैते दसैं, नवरात्रीमा पूजाआजा गरिन्छ। कार्तिक शुक्ल दशमीमा मन्दिरमा विशेष पूजाआजा गरी धार्मिक परम्परा अनुसार देवपुजन कार्य हुँदै आएको पुजारी भट्टले बताए। यस मन्दिरमा पूजाआजा गर्नाले मनले चिताएका सम्पूर्ण कार्य पूरा हुने गरेको उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.