विकट जिल्ला दार्चुलाका नागरिक आयोडिनयुत्त नुनको पहुँचमा

दार्चुला-सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलाका नागरिक आयोडिन युक्त नुनको सहज पहुँचमा पुगेका छन्।

यसअघि नुनका लागि भारतीय बजारको भर थियो। गोकुलेश्वरमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो स्थापना भएपछि त्यहाँका नागरिक आयोडिनको सहज पहुँचमा पुगेका हुन्। जिल्लाका नौ वटै स्थानीय तहका ६१ वटै वडाका नागरिकलाई आयोडिनयुक्त नुन सहज रूपमा प्राप्त होस् भन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दार्चुला (खलङ्गा डिपो) र गोकुलेश्वर डिपो) ले विभिन्न स्थानीय तहमा बिक्री केन्द्र स्थापना गरेर नुन बिक्रीवितरण गरिरहेको छ।

खलङ्गा डिपोका इन्चार्ज प्रेमसिंह कुँवरका अनुसार व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका स्थानीयलाई गाउँघरमै आयोडिनयुक्त नुन उपलब्ध गराउन दुहुँ गाउँपालिका–५, गरमोरा र व्यास गाउँपालिका–४, सुन्सेरमा नुन बिक्री केन्द्र स्थापना गरिएको छ। बिक्री केन्द्रबाट प्रत्येक दिन नुन बिक्रीवितरण भइरहेको छ।

गोकुलेश्वर डिपो अन्तर्गत अपिहिमाल गाउँपालिका–५, ओखल, वडा नम्बर ४ को खण्डेश्वरी, नौगाड गाउँपालिकाको होपरीगाड र मालिकार्जुन गाउँपालिकाको पस्ती बिक्री केन्द्रबाट नुन बिक्रीवितरण भइरहेको गोकुलेश्वर डिपोका इन्चार्ज लक्ष्मण सिंह धामीले जानकारी दिए। गोकुलेश्वर डिपोबाटै बैतडीको डिलाशैनी गाउँपालिकाका स्थानीयले समेत आयोडिनयुक्त नुन उपभोग गरिरहेको बताइएको छ।

गोकुलेश्वर डिपोबाट दैनिक २० देखि २५ क्विन्टल तथा खलङ्गा डिपोबाट दैनिक १५ देखि २० क्विन्टल आयोडिनयुक्त नुन बिक्रीवितरण हुने गरेको सम्बन्धित डिपोका इन्चार्जले बताए।

Leave A Reply

Your email address will not be published.