शिक्षित व्यक्ति र जनशक्तिको पूर्ण परिचालनबाट मात्र कुनै पनि राष्ट्र र समाजको सम्पूर्ण उन्नति प्रगति सम्भव हुन्छ । आजको युग ज्ञान र प्रविधिको युग मानिन्छ प्राविधिक ज्ञान हासिल गर्नु आजको समयमा अपरिहार्य नै भइसकेको छ । यस कारण पनि हरेक राष्ट्रले आफ्नो कुल बजेटको सबैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने देखिन्छ ।नेपाल सरकारले विकास वजेटको अनुपातमा नै शिक्षामा खर्च गर्दै आइरहेको छ । तर यसबाट सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेको भने छैन ।
भविष्यमा समाजको परिवर्तन र विकासमा उल्लेखनीय योगदान पुर्याउनु छ भने असल शिक्षा लिन अभिरूचि, लगाव र झुकाव हुनुपर्दछ । विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र लगाम लगाउनुको साटो उनीहरुको ब्यवहार, सोचाई, स्वभाव र सृजनात्मकतामा सकारात्मक परिवर्तन ल्याइ जीवन उपयोगी नैतिक र व्यावसायिक शिक्षा दिनुनै गुणस्तरीय शिक्षाहो भन्न सकिन्छ ।
तर, नेपालको परिप्रेक्षमा हेर्ने हो भने यहाँका अधिकांश विद्यालयहरुबाट दिइने शिक्षा गुणस्तरी छ भन्ने अवस्था छैन । असल शिक्षा एउटा प्रतिस्पर्धाको परीक्षा हो । यो जहीँ कहीँ नमिल्न सक्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागि पर्नु पर्दछ । जुन आफ्नो जीवन र समाजको विकासका लागि प्रयोगमा आउन सकोस् । राम्रो शिक्षाको प्रकृति सधैँ रचनात्मक हुन्छ । यसले भविष्य निर्माणमा अग्रसर गराउँछ । यस्तो शिक्षाको फल समाजले पनि प्राप्त गर्न सक्छ । सामाजिक मुद्दाका बारेमा राम्रो आदत राख्न जागरूक र बढवा दिन्छ ।
कक्षा १२ को नतिजा प्रकाशन भएको सबैलाइ जगजाहेर छ।मेलौली नगरपालिकाको अभिन्न अंग मणिलेक बहुमुखी क्याम्पस मेलौली बैतडी यस क्षेत्रको उच्च शिक्षाको उचित गन्तव्य हो।यहाँका सबै राजनीतिक दल,समाजसेवी,शैक्षिक व्यक्तित्व,प्रशाशक ,नेताकार्यकर्ता , आम नागरिक , बुद्धिजीवी र शिक्षक कर्मचारीहरुको चासो यश तर्फ केन्द्रित हुने बेला आएको छ।
विश्व बजारमा भएको प्राविधिक परिवर्तनले अहिले धेरै पेशा ब्याबसाय धारापमा परेका छन। यस सन्दर्भमा समय अनुकुल शैक्षिक कार्यक्रम पनि परिवर्तन र परिमार्जन गर्नु पर्ने आजको आवश्यकता हो।अर्को महत्त्वपूर्ण कुरा उच्च शिक्षाप्रतिको आकर्षण दिन प्रतिदिन घट्दै गएको छ। यसका निम्ति सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुले प्राथमिकताका साथ चासो चिन्ता लिनुपर्ने र आवश्यक कदम चाल्नुपर्ने बेला भएको छ।पुजीवादले अहिले धन नै सबैथोक हो। धन सम्पत्ति र पैसा भए सबैथोक चुट्किमा हुन्छ भन्ने मान्यता स्थापित गरेको कारण भ्रष्टाचार र परनिर्भरता बढेको छ ।धन पैसा कमाउनकै लागि प्रतिभापलायन हुने कुरा अहिले को जल्दाबल्दो समस्या हो।
एकातिर विश्वव्यापीकरणको ,निजीकरण र उदारीकरणले विश्व एउटा घर भएको छ। अर्कोतिर यसले भयानक समस्या र चुनौती खडा गरेको छ। प्रविधिको बिकास , प्रयोग,स्थानान्तरण र गतिमा व्यापक छलाङ मारेको छ। तर यसले घरेलुु उद्योग र व्याबसाय धराप पर्नुको साधै साधन स्रोतको दोहन र शोषण भएको छ।
शुसासन र विधिको शासनको कमीले गर्दा राजनीति र नेताकार्यकर्ता प्रती आम नागरिकमा नकारात्मक धारणा पैदा भएको छ । राज्यले ग्यारेन्टी गर्नुपर्ने न्युनतम सेवा सुबिधा सहजै आम नागरिक सम्म पुग्न पनि केही तगारो बनेको परिस्थितिमा डेलिभरी सबै तहका सरकारले सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो छ। विभिन्न प्रयोजनका लागि शैक्षिक संस्था र विद्यार्थीहरुलाइ प्रयोग गर्ने राजनीतिक दलहरूले विद्यार्थी भर्नाको समयमा पनि चनाखो र चासो लिनुपर्ने हो। तर अहिले कानमा तेल हालेर नेताकार्यकर्ताहरु गहिरो निन्द्रामा निदाउनु भएको छ।
राजनीतिक भागबन्डाले आम संघ संस्था र प्रतिष्ठानहरु थिङ्थलो भएका छन। सक्षम ब्यक्तीलाई जिम्मेवारी दिनुको सट्टा समिपको मान्छेलाई जिम्मेवारी दिने प्रवृत्तिले । स्वार्थ सिद्ध गर्नु बाहेक संघ संस्थाको उन्नयन र बिकास हुनुको सट्टा बिनास र समाप्ति भएको छ। शिक्षाशास्त्र संकाय , व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि संकायका विषयहरु अध्ययन गर्न शहर जानुपर्ने आवश्यकता छैन।मणिलेक बहुमुखी क्याम्पस मै आफ्नै घरेलु खाना खाएर सर्वसुलभ रुपले आफ्नो उच्च शिक्षाको उद्देश्य परिपुर्ति गर्न सकिन्छ भन्ने भाष्य सम्पूर्ण सरोकारवालाहरुले निर्माण गर्नुपर्ने आवश्यकता तत्काल देखिएको छ।यो समुदाय र समाजको प्रगति उन्नतिको मुख्री आधार शिक्षा हो। शिक्षा पुर्वाधारको पनि पुर्वाधार हो।
यो कुरा आमनागरिक लाई बुझाउनु जरुरी छ। असल र देशकाल परिस्थिति अनुरुपको शिक्षाले नै देशको समृद्धि सम्भाव छ। मणिलेक क्याम्पसको स्थापनाको उद्देश्य हामीले बिर्सिएर बस्यौं भने , यो समाज र आमनागरिकको लागि ठूलो अभिसाप र घातक हुने कुरा सबैले मनन गरौं । बरु क्याम्पसले के के कुरामा सुधार गर्नुपर्ने हो। समाज र स्थानीय सरकार संग कसरी हातेमालो गरेर अगाडि बढ्न सकिन्छ। यो विषयमा सम्पुर्ण सरोकारवालाहरु बसेर व्यापक छलफल र बहस गरि एउटा निष्कर्षमा पुगौँ। यो क्याम्पस स्थापनामा यहाँका अग्रज समाजसेवी , बुद्धिजीवी ,शिक्षाप्रेमी र राजनीतिक दल तथा आमनागरिकहरुले खेलेको ऐतिहासिक भुमिका र योगदानलाई चिरस्थाइ राख्न आजको पुस्ताले भुमिका खेल्नुपर्ने र योगदान गर्नुपर्ने आवश्यकता छ।मणिलेक बहुमुखी क्याम्पसलाई उच्च शिक्षाको उचित गन्तव्य बनाउ ।अब जाग्ने बेला आएको छ जागौं।
फिडिर विद्यालयको रुपमा रहेका स्कुल मणिलेक नमूना मा बि काँडा मेलौली, बिशालपुर मा बि बिशालपुर, दुर्गा मा बि खलिगाड , केदारेश्वर मा बि दुर्गास्थान र घर्मघर मा।बि सलेना र शिवनाथ पालिका , भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका डडेल्धुराका प्रधानाध्यापक, शिक्षक र पालिका प्रमुख र अन्य सम्पुर्ण सरोकार राख्ने महानुभवहरुले विद्यार्थी भर्नामा अहम भुमिका निर्वाह गर्न हुन अनि अनुरोध गर्दछु ।
असल शिक्षा वा ज्ञान व्यक्ति र समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो । समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजको उन्नति, प्रगति, परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ । शिक्षाबाट व्यक्तिको व्यक्तित्व, समाज र राष्ट्रको आवश्यकतालाई पूर्ण गर्न सक्ने ज्ञान प्रदान गराउनु पर्छ । व्यक्तित्व विकास र मानसिक विकास प्रदान गर्दै राम्रो र कुशल जीवनका लागि असल शिक्षा आवश्यक पर्दछ ।
व्यक्तिलाई शारीरिक, मानसिक र सामाजिक रुपमा राम्रो बनाउनुका साथै कुसल जीवन जिउनुपर्छ भन्ने कुरामा पनि बढवा दिन्छ। असल शिक्षा त्यो अविश्वसनीय शक्ति हो, जसले खराब शक्तिबाट टाढा गर्न, आत्मनिर्भर बनाउन र समाजमा कैयन नयाँ अवसरहरु सिर्जना गर्न सम्भावनाका अवसरहरु प्रदान गर्दछ। शिक्षामा यस्तो परिवर्तन हुन नसक्नु व्यक्ति र समाजलाई अभिशाप हुन पुग्दछ ।
“शिक्षा नै समाजको समृद्धिको मेरुदण्ड हो ।“ असल शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी तागत प्रदान गर्न सबै भन्दा महत्वपूर्ण यन्त्र हो त्यसैले कामना गरौँ, आगामी दिनमा शिक्षाको सुधारले समाजमा बहुपयोगी कार्यहरु सहजै गर्न सकियोस् ।
लेखक:भीम सिंह धामी मणिलेक बहुमुखी क्याम्पस काँडा मेलौली बैतडीका उपप्राध्यापक हुन् ।