नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ आर्य, मंगोल, द्रविड र विभिन्न जातीय समूहका मानिसहरू शताब्दीयौँदेखि आपसी सम्मान, सहिष्णुता र भाइचारा कायम गर्दै बसोबास गर्दै आएका छन्। नेपालमा हिन्दु, बौद्ध, इस्लाम, किराँत, क्रिश्चियनलगायत अनेक धर्महरूको सहअस्तित्व छ। यी सबै धर्महरूले आ–आफ्नो सांस्कृतिक पहिचान, मूल्य–मान्यता, परम्परा र विश्वासलाई संरक्षण गर्दै राष्ट्रको सांस्कृतिक सम्पदालाई समृद्ध बनाइरहेका छन्। यसै सन्दर्भमा नेपालका प्राचीन र मौलिक धर्ममध्ये एक किराँत धर्म, त्यससँग सम्बन्धित महत्वपूर्ण पर्व उधौली, र यस पर्वसँग प्रत्यक्ष जोडिएको साकेला नाच–पर्व बीचको अन्तरसम्बन्ध अत्यन्तै गहिरो र ऐतिहासिक छ।
किराँत धर्मको र मानव जीवनको सम्बन्ध ।
किराँत धर्म नेपालको सबैभन्दा पुराना धर्महरूमध्ये एक मानिन्छ। यो प्रकृतिसँग बढी नजिक छ ।यसको इतिहास वैदिक कालभन्दा पनि प्राचीन रहेको मान्यता पाइन्छ। किराँत समुदाय नेपालका पूर्वी पहाडी क्षेत्रमा प्राचीनकालदेखि बसोबास गर्दै आएका छन्। राई, लिम्बु, सुनुवार, याक्खा, नेवारभित्रका केही समूहहरू किराँत परम्परासँग सम्बन्धित मानिन्छन्।
किराँत धर्म मूलतः प्रकृतिपूजक धर्म हो। यस धर्ममा आकाश, पृथ्वी, पानी, हावा, वनस्पति, पहाड, नदी, सूर्य, चन्द्रमा, भूमिदेवता, पितृदेवता आदिलाई विशेष सम्मान गरिन्छ। किराँत धर्मले मानव र प्रकृतिबीच सन्तुलनमा आधारित जीवनशैलीलाई सबैभन्दा ठूलो धर्म मान्दछ।
किराँत धर्मका प्रमुख धार्मिक ग्रन्थहरूमा मुन्धुम ९मुनधुम० महत्वपूर्ण मानिन्छ। मुन्धुममा सृष्टिको उत्पत्ति, मानव जीवन, कर्म, धर्म, संस्कृति, नैतिकता र सामाजिक आचारणका नियमहरू उल्लेख गरिएको हुन्छ। यस धर्ममा पुरोहितलाई नाक्छोङ, धामी, झाँक्री जस्ता नामले चिनिन्छ।
उधौली पर्वको धार्मिक र सांस्कृतिक अर्थ
उधौली किराँत समुदायको सबैभन्दा ठूलो, ऐतिहासिक र धार्मिक पर्व हो। यो पर्व मुख्यतः मंसिर महिनामा ९कार्तिक पूणिर्मा पछाडि० मनाइन्छ। उधौली शब्दको अर्थ ‘तल झर्ने’ हुन्छ। यस पर्वमा अन्न, फलफूल, पशुपन्छी र कृषिजन्य उत्पादन भित्र्याउने समय सुरु हुने भएकाले यसलाई बालीनाली भित्र्याएको खुसियालीको पर्व का रूपमा पनि लिइन्छ।
उधौली पर्वको मुख्य उद्देश्य भनेको भूमिदेवता, प्रकृति र पितृपूजामार्फत धन्यवाद व्यक्त गर्नु हो। किसानहरूले वर्षभरि गरेको परिश्रमबाट राम्रो उत्पादन प्राप्त भएकोमा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्छन्। घर, खेतबारी, गोठ, वनजंगल सबैलाई पवित्र मानेर पूजा गरिन्छ।
उधौली पर्वमा किराँत समुदायमा विशेष धार्मिक कर्मकाण्ड हुन्छ। चावल, दाल, मासु, रक्सी, अदुवा, सिन्दूर लगायतका सामग्री पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ। बलि समेत दिइने परम्परा छ, जसलाई देवता र पितृलाई समर्पणको प्रतीकका रूपमा लिइन्छ।
साकेला नाच
साकेला किराँत समुदायको सामूहिक नाच र पर्व हो, जुन प्रायः उधौली र उभौली गरी दुई पटक मनाइन्छ। उधौली साकेला मंसिरतिर र उभौली साकेला वैशाखतिर मनाइन्छ। साकेलालाई चण्डी नाच, चासोक तङनाम, साकेला सिली आदि नामले पनि चिनिन्छ।
साकेला पर्वमा पुरुष र महिलाहरू गोलाकार घेरा बनाएर परम्परागत बाजागाजा—ढोल, झ्याम्टा आदिको तालमा विभिन्न मुद्राहरुमा नाच्छन्। साकेला नृत्यमा कृषि, शिकार, रोपाइँ, कटाइ, पशुपालन, विवाह, जन्म, मृत्यु जस्ता जीवनका सम्पूर्ण गतिविधिहरू नृत्यमार्फत प्रदर्शन गरिन्छ।
उधौली र साकेलाबीचको सम्बन्ध
उधौली पर्व र साकेला नृत्य एक–अर्कासँग गहिरो रूपमा जोडिएका छन्। उधौलीको धार्मिक पक्ष प्रमुख भए तापनि यसको सांस्कृतिक अभिव्यक्ति भने साकेला नाच हो। अर्थात् उधौली पर्वको आत्मा नै साकेला नाच हो।
उधौलीमा पूजा सम्पन्न भएपछि साकेला नाच सुरु गरिन्छ। यो नाच केवल मनोरञ्जनका लागि मात्र नभई देवता प्रसन्न गर्ने माध्यम, सामूहिक एकता प्रदर्शन गर्ने साधन, र संस्कृति हस्तान्तरण गर्ने प्रक्रिया हो।
साकेलाको प्रत्येक चाल–ढाँचामा उधौली पर्वको मर्म लुकेको हुन्छ। जस्तैस्
बीउ रोप्ने चाल
धान काट्ने चाल
पानी हाल्ने चाल
पशु चराउने चाल
यी सबै चालहरूले किराँत समुदायको श्रमजीवी जीवनशैली झल्काउँछन्।
किराँत धर्म, उधौली र साकेला केवल धार्मिक कर्म नभई सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएका छन्। यी पर्वहरूले
आपसी मेलमिलाप बढाउँछन्
समाजमा एकता कायम गर्छन्
युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरुक बनाउँछन्
परम्परागत ज्ञान संरक्षण गर्छन्
प्रकृतिप्रति उत्तरदायी बनाउँछन्
आज शहरमा बसोबास गर्ने किराँत समुदायसमेत उधौली र साकेलाको अवसरमा गाउँ फर्केर आफ्ना पुर्खाको माटो सम्झने परम्परा निभाइरहेका छन्।
नेपालको संविधानले सबै धर्मलाई समान मान्यता दिएको छ। यहाँ हिन्दु दशैं–तिहार, मुस्लिम ईद, बौद्ध ल्होसार जस्तै किराँत उधौली–उभौली पनि राष्ट्रिय रूपमा सम्मानित हुँदै आएका छन्। आज सरकारी निकाय, विद्यालय, विश्वविद्यालयदेखि पर्यटन क्षेत्रसम्म साकेलालाई नेपालको मौलिक सांस्कृतिक सम्पदाका रूपमा चिनाउन थालिएको छ।
नेपालको पूर्वतिरका जिल्ला इलाम , पाँचथर ,झापा , विराटनगर ,सुन्सरी , मोरङ , रसुवा, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगाका साथै काठमाण्डौं , कास्की ,लम्जुङ लगायत विभिन्न जिल्लामा साकेला महोत्सवहरू आयोजना गर्ने परम्परा छ। यसले नेपालको सांस्कृतिक पर्यटनलाई समेत प्रवर्द्धन गरेको छ।आज आधुनिक प्रविधि, वैदेशिक रोजगार, पाश्चात्य संस्कृतिको प्रभावका कारण किराँत संस्कृतिमा केही चुनौतीहरू देखा परेका छन्। धेरै युवाहरू आफ्नो मातृभाषा, परम्परागत नृत्य, मुन्धुम र धार्मिक विधि बिर्सँदै गएका छन्।
तर पछिल्ला वर्षहरूमा किराँत समुदायभित्रैबाट साकेला संरक्षण समिति, भाषा संरक्षण अभियान, सांस्कृतिक प्रशिक्षण केन्द्र स्थापना गर्ने प्रयासहरू बढ्दो क्रममा छन्। सरकारले पनि पाठ्यक्रममा स्थानिय संस्कृति समावेश गर्ने काम गरिरहेको छ।
उधौली पर्व
उधौली पर्वले हामीलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ।
साकेला नृत्यले हामीलाई श्रम, एकता र समानताको महत्व बुझाउँछ।
किराँत धर्मले हामीलाई अहिंसा, सहअस्तित्व र मानवता सिकाउँछ।
यी सबै सन्देश केवल किराँत समुदायका लागि मात्र होइन, सम्पूर्ण नेपाली समाजका लागि प्रेरणादायी छन् ।
किराँत धर्म, उधौली पर्व र साकेला नृत्य नेपालका मौलिक धार्मिक–सांस्कृतिक धरोहर हुन्। यी तीनै तत्व एक–अर्काबिनाका अधुरा छन्। किराँत धर्म यसको दर्शन हो, उधौली यसको धार्मिक अभिव्यक्ति हो, र साकेला यसको सांस्कृतिक प्रस्तुति हो।
नेपालको विविधतायुक्त समाजमा यस्ता परम्पराहरूले हामीलाई आपसी सम्मान, सहिष्णुता, सांस्कृतिक गर्व र राष्ट्रिय एकता कायम राख्न प्रेरणा दिन्छन्। आधुनिक नेपालमा विकास र प्रविधिसँगै यस्ता मौलिक संस्कृतिहरूको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो।
नेपालको पहिचान हिमाल, पहाड, तराईसँग मात्र होइन, किराँत साकेला, उधौली, दशैं, ईद, ल्होसार, छठ सबैसँग जोडिएको छ। यही विविधताको सौन्दर्य नै नेपालको साँचो गहना हो ।
देबेन्द्र दत्त भट्ट
मेलौली -७ बैतडी