माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ।
आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ। यस दिन पढाइ शुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहेको छ। विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ। तान्त्रिकहरू भने तारादेवीका रूपमा आराधना गर्छन्।
सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म गर्न नहुने मान्यता छ।
बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ। काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको भीड लागेको छ।
हनुमानढोका दरबारको नासल चोकमा आज वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुनेछ। वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यक्रमका लागि सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ।
यसैबीच महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी) लाई कृषि नववर्षको रूपमा मनाउने परम्परा छ। मिथिला मुख्यतया कृषिप्रधान क्षेत्र भएकाले यस पर्वलाई किसानका लागि नयाँ वर्षको शुरुआत मानिन्छ। यस दिन किसानले कृषि श्रमिक र लोहार वरण गर्ने, हलो जोत्ने, कृषि औजार पूजा गर्ने तथा बीउ छनोट, शुद्धीकरण र भण्डारण गर्ने चलन छ।
यससँगै वर्षभरि राम्रो खेतीपाती होस् भन्ने कामना गरिन्छ। श्रीपञ्चमीसँगै वसन्त ऋतु शुरु हुने र मौसम खेतीका लागि अनुकूल बन्ने विश्वास पनि रहेको छ। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको अनिश्चितता, युवा श्रमिकको पलायन र सरकारी सहयोगको अभावका कारण परम्परागत अभ्यास कमजोर बन्दै गएको किसानहरू बताउँछन्। मिथिलामा हरियाली र सम्पन्नताको प्रतीक मानिने यो पर्व संरक्षण र सहजीकरणको आवश्यकता देखिएको छ।