फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्।
उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ। यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो।
तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ। कुल १०४ खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने ३५७ खेलाडी पहिले विश्वकप खेलिसकेका छन्।
यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ।
मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ।
प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ । मेसी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ।