मेलौली न्यूज-
कर्मचारीतन्त्र राज्य शक्तिको वैधानिक परिचालन तथा प्रयोग गर्ने संवैधानिक संयन्त्र हो ।जनताबाट निर्वाचित प्रतिनिधिलाई सार्वजनिक नीति तथा कानूनको तर्जुमामा प्राविधिक सहयोग गर्ने देखी लिएर त्यसको सार्वजनिक हितमा कार्यान्वयन गर्ने, प्राप्त लाभ तथा उपलब्धिको न्यायपुर्ण ढंगबाट जनतासमक्ष पुर्याउने जिम्मेवारी कर्मचारीतन्त्रको हो । जनप्रतिनिधिबाट स्वीकृत राजश्वको दायराका आधारमा संकलन गर्ने र त्यसको जनहितमा खर्च गर्ने अख्तियारी कर्मचारीतन्त्रले नै प्रदान गरिएको हुन्छ ।
जनताको नजिक रहेर सेवा प्रवाह र विकास व्यवस्थापन गर्ने, जनताहरुलाई आईपरेका समस्या तथा चुनौतिहरुको समाधान गर्ने कार्य सार्वजनिक प्रशासनको रुपमा कर्मचारीतन्त्रले गर्दछ ।नागरिकलाई समस्या परेका बखत राज्यका सबै द्वारहरु बन्द हुन्छन् त्यतिबेला कर्मचारीतन्त्रको द्वार खुल्दछ । विषम परिस्थीतिमा पनि कर्मचारीतन्त्रले नागरिक हितका लागि कार्य गर्दछ । कमजोर विपन्न वर्गको हितका लागि सामाजिक न्याय र लोककल्याणकारीताको कार्य गर्दछ । यसको प्रमुख उद्देश्य भनेकै जनसेवा गर्नु हो ।
जनताको हित र सार्वजनिक मामिलाको सम्बोधन तथा व्यवस्थापनका लागि आफुसँगै निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र सामाजिक संस्थाहरुको नेतृत्व गर्दछ र परिचालन गर्दछ ।
विश्वव्यापिकरण, उदारीकरण, सूचना तथा प्रविधिको विकास र विश्वप्रणालीमा शासकिय व्यवस्थापनका मान्यतामा आएको नविनतम प्रयोगसँगै नागरिकहरुले कर्मचारीतन्त्रप्रति राख्ने आकांक्षा र त्यसले गर्ने कार्यहरुमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । कर्मचारीतन्त्रका प्रकृयागत र कार्यगत शैली र परिवर्तन व्यवस्थापन गर्न नसक्ने मनोवृतिका कारण कर्मचारीतन्त्रको विकल्प खोज्न थालिएको हो । कानूनद्वारा व्यवस्थीत राज्यको यति महत्वपूर्ण संयन्त्रको विकल्प अन्य नभई यसकै सुदृढिकरण गर्नु हो ।
कर्मचारीतन्त्रको विकल्प खोज्नुका कारण
सामाजिक प्रणाली परिवर्तनसिल छ । निरंकुश राजनीतिक प्रणालीदेखी नागरिक सर्वोच्चतामा आधारीत लोकतान्त्रिक प्रणालीसम्म आईपुग्दा कर्मचारीतन्त्रका मुल्य, स्वरुप, प्रवृत्ति तथा व्यवहारमा परिवर्तन आउनैपथ्र्यो र आएको पनि छ । लोकतन्त्रमा पनि हामीले खोजेको प्रगतिसिल लोकतन्त्र हो । यसका लागि यात्राको विकल्प निरन्तर सुदृढिकरणतर्फ गईराखेको अवस्थामा स्थीर कर्मचारीतन्त्रबाट हाम्रो अपेक्षा पुरा गर्न नसकिने भएकाले कर्मचारीतन्त्रमा व्यापक परिवर्तन गर्नुपरेको हो ।
आजको समयमा कर्मचारीतन्त्रले बढ्दा नागरिकका आवश्यकता र आकांक्षाहरुको सम्बोधन गर्न सकिराखेको छैन । जनता राज्य कोषबाट तलव भत्ता पाएका सेवकहरुबाट आफ्ना आकांक्षा पुरा नहुँदा निरास छन् । यस किसिमको संरचनाको विकल्प खोज्नुपर्छ भन्ने माग जनताकै हो । कर्मचारीतन्त्रले प्रकृयामुखी कार्यशैलीका कारण छिटोछरीतो, दक्षतापुर्वक र प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न नसक्दा विकास र समृद्धिको चाहना पुरा गर्न असहजता भएको अवस्था छ ।
सानो निर्णय गर्दा पनि प्रकृया खोज्नैपर्ने संरचना संगठनभित्र स्थापीत गरिएको छ । प्रकृयाविना काम गर्दा जागिर नै नरहने डर कर्मचारीहरुमा हुन्छ । प्रकृयाको जालोले नतिजालाई अल्झाएर राखेको छ । जनता यस किसिमको संगठनात्मक प्रवृतिबाट आजित छन् । संगठनमा पनि परिवर्तनमुखी मनोवृत्ति र कार्यशैलि भएका कर्मचारी निरीह बस्नुपरेको अवस्था छ ।
हाम्रो कर्मचारीतन्त्रमा परिवर्तनमुखी मनोवृतिको अभाव छ । यसका पछाडि थुप्रै कारण छन् । एउटा सत्य उदाहरण दिन चाहन्छु । कैलालीको एक स्थानीय तहमा काम गर्ने प्रमुख प्रशासकिय अधिकृतले आफ्नो कार्यकालमा ८०० प्रतिसत राजश्व बढाए परनिर्भर अर्थतन्त्र भएका स्थानीय तहका लागि यति धेरै राजश्व बढाउनु सामान्य विषय थिएन । निरन्तरको प्रयास र परिवर्तनको भोकले यो सम्भव भयो । त्यसको उनलाई कुनै श्रेय मिलेन उल्टै उनलाई भ्रष्टाचारीको आरोपमा मुद्धा चलाईएको छ । यो उदाहरण मात्रै हो । त्यहि कार्यालयमा काम गर्ने अर्का प्रतिभावान र परिवर्तनमुखी स्वभाव भएका अधिकारीलाई पनि मुद्धा दायर गरेर निलम्बन गरिएको छ । यस्तो देशभरी धेरै ठाउमा छ । यस्तो प्रणाली र प्रवृत्ति रहेसम्म चुनौतिको सामना गरेर सेवाको सुरक्षा खोजि लोकसेवा पास गरेका कर्मचारीहरु परिवर्तन गर्न प्रयत्न गर्दैनन् । यो गम्भीर विषय हो । विकास र समृद्धिका भोका हामी जनताहरुको अपेक्षा कर्मचारीतन्त्रको परिवर्तनमुखी मनोवृत्ति नहुँदासम्म पुरा हुन सक्दैन ।
दशक यता विश्वव्यापिकरण, उदारीकरण र सूचना प्रविधिको विकासले मानव समुदायको राज्य र शासन प्रणाली प्रतिको धारणा बदलिदिएको छ । विश्व एक गाउको रुपमा हेर्न थालिएको अवस्थामा नोकरशाहि अड्डाहरुको स्वरुप, प्रवृत्ति, संरचना , कार्यशैली र कार्यक्षेत्रमा परिवर्तन नहुँदासम्म यस प्रति न त जनता विश्वास गर्छन्, न त जनताको आवश्यकता, समस्या र आकांक्षाको यसले पुर्ति गर्न सक्छ । कमजोर सीमानाबाट छुट्टिएका राज्यहरु कर्मचारीतन्त्रकै कारणबाट प्रतिस्पर्धाबाट बाहिर पुग्ने खतरा रहन्छ ।
केहि वर्ष अगाडिसम्म समाजमा राज्य मात्रै थियो । एक्लैले जनताका काम गर्दथ्यो । तर, आज समाजमा निजी क्षेत्र, गैर सरकारी क्षेत्र, सामुदायिक संस्थाहरुको विकास भई र तिनले सार्वजनिक सेवाहरु गर्न थालेका छन् । यस अवस्थामा समाजमा काम गर्ने विभिन्न उद्देस्य वोकेका संयन्त्रहरुको उद्देस्य राज्यको उद्देस्य सँग तालमेल गर्नु पर्ने छ ।
यसका लागि कर्मचारीतन्त्र बदलिनु आवश्यक बनेको हो । सरकारका कार्यहरु समिति तथा आयोगबाट गर्न थालिएको छ । आफ्नो कार्यक्षेत्र र भुमिकामा परिवर्तन भएपछि सरकारले आफ्नो कार्य गर्ने संयन्त्र निजामती सेवाको सुदृढिकरण गर्नु आवश्यकता मात्र नभई वाध्यताको रुपमा वुझेको छ । समृद्ध, समुन्नत र प्रतिस्पर्धि प्रणालीको विकासका लागि राज्यशक्तिको प्रयोग गर्ने शैलीमा परिवर्तन हुनु आवश्यक छ ।
कर्मचारीतन्त्रका विकल्पहरु
कर्मचारीतन्त्रका विकल्पहरु खोजिने कार्य विश्वभरीनै जारी छ । यो एउटा गतिशिल प्रकृया भएकाले रोकिदैन । आजको समयमा हाम्रो माग र आवश्यकताको पूर्ति गर्न कस्तो कर्मचारीतन्त्रको बनाउने गर्ने भन्ने वहस प्रमुख हो । मुलतस् संघीय प्रणालीमा गईसकेको हाम्रो कर्मचारीतन्त्रमा तलका विकल्पहरु मुख्य हुन सक्दछन् ।
१) संगठन संरचनामा सुधारस् संगठनीक संरचनालाई चुस्त दुरुस्त, चेप्टो निर्णयका तहहरु कम हुने गरी निर्माण गर्नुपर्छ । यसका लागि कर्मचारीतन्त्रमा पदहरु कम गरेर चेप्टो फराकिलो संगठन निर्माण गर्नु पर्दछ ।
२) मुल्यहरुको विकासस् कर्मचारीमा देश भक्ती, लगनसिलता, उत्प्रेरणा तथा सकारात्मक र परिवर्तनमुखी मनोवृत्तिको निर्माण गरेर त्यसप्रति जनताको विश्वासको प्रवद्र्धनका लागि सदाचारीता, नैतिकता, व्यवसायीकता, नेतृत्वपन, निष्पक्षता, सक्षमता, जस्ता मुल्यहरुको आन्तरीकिकरण गर्नु आवश्यक छ । ह्रास हुँदै गईराखेको मुल्य तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास जिवन्त कर्मचारीतन्त्रको प्रमुख आधार हो ।
३) क्ष्ऋत् मैत्रि संगठन बनाउने
आजको युग सूचना र प्रविधिको युग हो । हरेक व्यक्तिको हात हातमा स्मार्ट फोन छ । ल्यापटप, कम्प्यूटर, ध्क्षक्ष् जस्ता क्ष्ऋत् पूर्वाधारमा जनताको पहँुच बढेको छ । यस अवस्थामा सेवाग्राहीको माग सेवा दिने कर्मचारीतन्त्रले क्ष्ऋत् को प्रयोग गरेर घरमै सेवा दियोस् भन्ने छ ।
४) मनोवृत्तिगत सुधार:कर्मचारीतन्त्रमा सकारात्मक र परिवर्तनमुखी मनोवृत्तिको अभाव छ । काम र जिम्मेवारीबाट पन्छिने, नयाँ अभ्यासको थालनी नगर्ने, सरकारी काम भन्ने उत्तरदायी नहुाने संस्कार विद्यमान छ । कर्मचारीतन्त्रमा रहेको उक्त मनोवृत्तिमा परिवर्तन ल्याउनु आवश्यक छ ।
५) नतिजामुखी कार्यशैलीमा जोड: कर्मचारीतन्त्र प्रकृयामुखि कार्यशैलीबाट प्रभावित छ । उत्पादकत्व बसरी बढाउने र सेवाग्राहीको सन्तुष्टि कसरी बढाउने भन्ने तर्फ नभई प्रकृयामा बढी जोड दिएमा आफु सुरक्षित हुने र काम पनि गर्नु नपर्ने भन्नेमा जोड दिने संस्कृतिको अन्त्य गरी नतिजालाई केन्द्रमा राखेर काम गर्ने पद्धतिको स्थापना गर्नुपर्दछ ।
६) विकेन्द्रित व्यवस्थापनमा जोड दिने: जनता नजिक रहेका संयन्त्रमार्फत राज्य शक्ति र स्रोत साधनको परिचालन गर्ने पद्धतिको विकास गर्नुपर्दछ । जनताको वरीपरी सरकार भन्ने मुल्यलाई व्यवहारमा लागु गर्न सकेमा कर्मचारीतन्त्रको जग बलियो बन्न जाने देखिन्छ ।
७) साझेदारका पात्रको नेतृत्व गर्ने:हाम्रो संरचनाले उदारीकरणको मान्यता व्यवहारमा लागु गरीसकेको छ । नागरिकको सर्वोच्चता र मानव अधिकारको अधिकतम संरक्षण गर्न साझेदारका पात्रहरुको नेतृत्वकर्ता हुनुपर्दछ । निजी क्षेत्र सामुदायिक संस्था, नागरिक समाज र गैर सरकारी क्षेत्रलाई सेवा प्रवाह र सार्वजनिक हितका क्षेत्रमा परिचालन गर्न सकेमा मात्रै कर्मचारीतन्त्र सफल र प्रभावकारी बन्न सक्दछ ।
८) नयाँ अभ्यासको थालनी : विश्वमा सार्वजनिक क्षेत्रले नयाँ-नयाँ अभ्यासहरुको सुरुवात गरेको छ । निजी क्षेत्रमा भएका असल र प्रभावकारी अभ्यासहरुको आन्तरीकिकरण गरी सेवाग्राहीको अधिकतम हित हुने गरेर सार्वजनिक व्यवस्थापनमा विकास भएका नविन मुल्यहरुको आन्तरीकिकरण गर्नमा जोड दिनुपर्दछ ।
कर्मचारीतन्त्रको सुदृढिकरण भनेको कर्मचारीतन्त्रको विकल्प हो । त्यसैले निरन्तर रुपमा यसको सुदृढिकरण गरी प्रतिस्पर्धी, व्यवसायीक र नतिजामुखी बनाउँदै लैजानु पर्दछ । समयसँगै जनताले राखेका अपेक्षाहरुको सम्बोधन गर्न सक्ने बनाउनु पर्दछ । सूचना, प्रविधि र सञ्चार जगतको भरपुर प्रयोग गरी सेवाको गुणस्तरियता र प्रभावकारीता बढाउदै लैजानु पर्दछ । यि नै कर्मचारीतन्त्रका सुधारका उपायहरु हुन् ।
जगदिश प्रसाद जोशी, शाखा अधिकृत, (मेलौली नगरपालिका-बैतडी)
राष्ट्रसेवक डटकम बाट साभार ….