डडेल्धुराको अमरगढीमा एक घर एक धारा योजना पूरा हुन थाल्यो

पुस १७, २०७९
डडेल्धुरा- समय सीमाभन्दा आठ महिना ढिला गरेर एक घर एक धारा खानेपानी योजना पूरा हुन थालेको छ । अमरगढी नगरपालिका–७, पोखरा क्षेत्रमा गत असारमा काम पूरा गर्ने गरेर काम सुरु गरिएको योजना हाल पूरा हुन लागेको हो । २०७८ साल असार २० गते काम पूरा गर्ने गरी २०७६ मङ्सिर १३ गते योजनाको सम्झौता भएको थियो । उपभोक्ताले असार मसान्तअघि नै घरघरमा धारा जोडे पनि पानी आएको छैन । बोकेरै ल्याएको पानी खानु परेको छ ।

पुराना धारा सबै भत्किसकेका छन् । नयाँ धारामा पानी सञ्चालनमा नहुँदा स्थानीयले खानेपानीको चरम अभाव झेल्दै आएका थिए । नयाँ धारामा पानी नआउँदा पँधेरा र नालाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको स्थानीय नारायण कैनीले बताउनुभयो। धारामा पानी जोड्ने काम भइरहे अब पानी पाउने आशामा स्थानीय बासिन्दा छन् । पोखरा क्षेत्रका १० वटा गाउँमा पानी वितरण गर्न तीन करोड ५८ लाख रुपियाँको लागतमा एक घर एक धारा खानेपानी योजना सञ्चालन गरिएको पोखरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष टेक भण्डारीले बताए ।

उनका अनुसार नेपाल सरकारको अनुदान २३ लाख ८१ हजार र अमरगढी नगरपालिकाको ५४ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । निजी धारा खर्च ८८ लाख २४ हजार, समुदायको सहयोग ६७ लाख ५३ हजार, फिनल्यान्ड सरकार र युरोपियन युनियनको अनुदान एक करोड २५ लाख सहयोग छ । कुल तीन करोड ५८ लाख ७२ हजार रुपियाँ अनुमानित लागतमा योजना सञ्चालन गरिएको थियो ।

६०४ धारामा पानी पु९याउने योजनासहित सर्भे गरी योजना निर्माणको काम थालिएको थियो। अहिले केही धारा थप भएका छन्। ९० एमएमको पाइपमा पानी ल्याई १५ वटा नयाँ ट्याङ्की र तीनवटा पुराना गरी १८ ट्याङ्कीबाट धारामा पानी वितरणको काम भइरहेको उनले बताए । उपभोक्ताबाट १२ लाख रकम अग्रिम सङ्कलन अमरगढी–७ कै खालीगाड मुहानबाट पानी ल्याई उपभोक्तालाई वितरण गर्ने योजना थियो। पोखराबाट साढे तीन र साढे चार किलोमिटरको दूरीमा पानीका मुहान छन् ।

Leave A Reply

Your email address will not be published.