डडेल्धुरा -डडेल्धुराको भागेश्वर गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । भागेश्वर गाउँपालिकाको आयोजना र कैलालीको धनगढीस्थित सिपी अस्पतालको सहकार्यमा १३ गते निशुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।
गाउँपालिकाको वडा नम्बर ४ बगरकोटमा शिविर सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले जानकारी दिए । गाउँपालिकामै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि शिविर सञ्चालन भइरहेको उनले बताए ।
सिपी अस्पतालका अनुसार ग्याष्ट्रिक, पत्थरी, पेट दुख्ने, आन्द्रामा घाउँ भएको लगायत रोगको उपचार शिविरमा हुनेछ । यस्तै पित्तथैली र मृगौलको पत्थरी, हर्निया, हाइड्रोसिल, बवासिर, एपेन्डिसाइटीस, आन्द्रामा प्वाल परेको शल्यक्रिया सम्बन्धी रोगको पनि उपचार हुने अस्पतालले जनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, दम बढ्ने, ब्लड प्रेसर, सुगर, मृगी, थाइराइड लगायतका समस्या भएका व्यक्तिसंगै हाडजोर्नी र नशा रोगको पनि विशेषज्ञ चिकित्सकमार्फत उपचार हुने आयोजक भागेश्वर गाउँपालिकाले जनाएको छ ।
