प्रस्तावना समाज विचार, संवाद र बहसकै आधारमा परिपक्व बन्छ। तर हाम्रो वर्तमान प्रवृत्ति भने सानो विषयलाई पनि नकारात्मकतामा मोड्ने, कुतर्कलाई तर्कमाथि थोपर्ने, र संकीर्ण दृष्टिकोणले घेरिदै गयेको देखिन्छ। परिणामस्वरूप बहसलाई ज्ञानको मार्ग नभई झगडाको पर्याय मान्ने प्रवृत्ति बढ्दै गयेको छ। यस्तो सोचाइलाई परिवर्तन गरी सकारात्मक विमर्श र विवेकपूर्ण बहसतर्फ समाजलाई उन्मुख गराउनु अहिलेको आवश्यकता हो।
बहस र संवादको शक्ति शास्त्रले भनेको छ—“वादे वादे जायते तत्वबोधः” अर्थात् बहस र संवादकै माध्यमबाट सत्यज्ञान जन्मिन्छ। तर बहसलाई नकारात्मक दृष्टिले हेर्ने संस्कृतिले विचार संस्कृति कमजोर बनाइरहेको छ। आलोचना मात्र गर्ने तर समालोचनात्मक दृष्टि नअपनाउने प्रवृत्तिले समाजमा सृजनात्मक चेतना हराउँदै गएको छ। विवेकशील दृष्टिकोण अरूको विचारलाई अन्धानुकरण गर्नु प्रगतिशील समाजको लक्षण होइन। विवेकको तराजुमा विचारलाई तौल्न सक्ने क्षमताले मात्र समाजलाई सही दिशातर्फ डोर्याउँछ।
यही कारण अरिस्टोटलले भनेका छन्—“It is the mark of an educated mind to be able to entertain a thought without accepting it.” (शिक्षित मनको लक्षण भनेको कुनै विचारलाई तुरुन्त स्वीकार नगरी विचार गर्न सक्ने क्षमता हो।) ज्ञान बाँड्ने संस्कार ज्ञान बाँड्दा बढ्छ, थन्क्याउँदा हराउँछ। ज्ञान र सीपको पुस्तान्तरण नभए परम्परा लोप हुँदै जान्छ। त्यसैले भगवद्गीतामा भनिएको छ—“न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।” (यस संसारमा ज्ञान जस्तो पवित्र वस्तु अरू छैन।) यसैले हरेकलाई “म केही जान्दिनँ” भन्ने हिनताभन्दा, सिक्ने र बाँड्ने संस्कार विकास गर्नु अपरिहार्य छ। SWOT दृष्टिकोण कमजोरी (Weakness) र चुनौती (Threat) देख्नु गलत होइन, तर त्यसलाई सबल पक्ष (Strength) र अवसर (Opportunity) मा बदल्न सक्ने सामर्थ्य नै विवेकशील बहस र व्यक्तिको सार हो। वुद्धिजीबीहरूले पनि यो दिशामा समाजलाई डोर्याउन सक्नु पर्दछ।
ठूला-ठूला डिग्री होल्डरले समाजमा देखिन सक्ने गरि सकारात्मक प्रभाब छोडन सक्दैनन् र सकारात्मक बहसमा सहभागि हुन सक्दैनन भने त्यो डिग्री र ज्ञान केबल आफ्नो भुँडी भर्न मात्रै काम लाग्दछ र स्वार्थी समाज निर्माण गर्दछ। SWOT को प्रयोग सिर्जनाका लागि समेत हुनु पर्दछ। विवेक र द्वन्द्व समाजमा द्वन्द्व स्वाभाविक हुन्छ, तर त्यो द्वन्द्व समाधानमुखी र नतिजामुखी हुनुपर्छ। यही अर्थमा महात्मा गान्धीले भनेका छन्—“Honest disagreement is often a good sign of progress.” (ईमानदार असहमति प्रगतिको राम्रो संकेत हो।) द्वन्द्वको विवेकपूर्ण समाधानका लागि नै सकारात्मक विमर्श आवश्यक पर्दछ। पूर्वीय दर्शनले देखाएको बाटो वैदिक वाङ्मय र पूर्वीय चिन्तनले बहसलाई झगडाभन्दा ज्ञान–साधना र सत्य अनुसन्धानको बाटो मानेको छ।
शास्त्रार्थ भनेको शाश्त्रको अर्थ लगाउन गरिने गहन बहसको बाटो हो। हरेक तर्कलाई समाजको सापेक्षमा तौलिनु पर्दछ। • ऋग्वेद १०.१९१.२–३ : “संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।” (संगै अघि बढ, संगै बोल, तिमीहरूको मन पनि संगै होस्।) •
छान्दोग्य उपनिषद् : “सत्यमेव जयते नानृतम्।” (सत्य मात्र विजयी हुन्छ, असत्य कहिल्यै होइन।) • गौतम बुद्ध : “अप्प दीपो भव।” (आफ्नै दीपक स्वयं बन्छ।) यी वचनहरूले देखाउँछन् कि विमर्श र संवाद सहकार्य, सत्य र विवेकमा आधारित हुनुपर्छ। निष्कर्ष समाज रूपान्तरणका लागि खुला नजरिया, विवेकपूर्ण विश्लेषण र सकारात्मक बहस अपरिहार्य छन्। रूढ मानसिकता र अकडिलो सोचाइले समाजलाई अगाडि बढाउँदैन।
वैदिक वाङ्मयदेखि गान्धी र बुद्धसम्मका सन्देश एउटै छन्—बहसलाई ज्ञान र सत्य खोज्ने साधन बनाऊ, झगडाको कारण होइन। “काव्य शास्त्र विनोदेन कालो गच्छति धीमताम्” ज्ञानीहरूको जीवन काव्य, शास्त्र र विनोदसहित रमाइलो र सिर्जनशीलतामा बित्छ। झगडालु त मूर्खको स्वभाब हो अतः समाजलाई प्रगतिशील बनाउने बाटो यही हो -सकारात्मक विमर्श र विवेकपूर्ण बहस।
जगदीश ओझा
भीमदत्त नगरपालिका–५ महेन्द्रनगर कञ्चनपुर