भडकिलो बन्दै तीज : वर्गीयता, अनुकरण, बजार नीतिको प्रभाव र मौलिकताको प्रश्न

पृष्ठभूमि

नेपालको सांस्कृतिक जीवनमा पर्वहरू केवल उत्सव मात्र होइनन्, समाजका आत्मा हुन्। ती मध्ये हरितालिका (तीज )महिलाहरूको लागि श्रद्धा, भक्ति र आत्मसंयमको विशेष पर्वका रूपमा परिचित छ। हिन्दु धर्म ग्रन्थ स्कन्दपुराण निदेशित कथा र विधि अनुरूप शिव–पार्वतीप्रतिको आस्था, व्रत–पूजा र सामूहिक भेटघाट यस पर्वको मूल सार रहेको थियो। तर पछिल्ला दशकमा यसको स्वरूपमा उल्लेख्य परिवर्तन भएर भडकिलोपन, विलासीपन, अनुकरण, बजारिकरण र वर्गीय विभाजन यसका प्रमुख विशेषता बन्दै गएका छन्। दर खाने परम्परागत र आधुनिक सन्दर्भ- तीजसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष हो—“दर खाने” परम्परा।खास गरि तीजका अवसरमा निराहार ब्रत बस्ने त्यसपछि पनि लगातार अरू२दिन (गणेश चतुर्थी र ऋषि पञ्चमी)ब्रत बस्ने परम्परागत मान्यता अनुसार तीजको अघिल्लो दिन दड़/दर खाना खाने गरिन्छ। अझै सुदूरपश्चिमको कुरा गर्ने हो भने त यस पर्व लगत्तै गौरापर्व पनि पर्छ। अतः दरो अर्थात ढिलो पाचन हुने र बढी क्यालोरी प्राप्त हुने खाना बुष्टर डोजका रूपमा खाने कुरा नै दर वा दड़ हो।

• परम्परागत रूपमा: तीजको अघिल्लो दिन महिलाहरू माइतीमा जम्मा भई “दर” अर्थात् मीठा खानेकुरा (दुध, दही, फलफूल, मिष्ठान्न) ग्रहण गर्ने चलन थियो। यसले व्रत बस्नका लागि शरीरलाई शक्ति दिन्थ्यो। साथै, यो बहिनी–दिदी र माइतीबीचको प्रेम–स्नेह, सामूहिकता र पारिवारिक सम्बन्ध प्रगाढ गर्ने अवसर हुन्थ्यो। भने सुदूरपश्चिममा त माइती घर गयेर मात्रै होइन आ आफ्नै पनिघरमा दड़ खाने चलन छ।

• आधुनिक सन्दर्भमा: आज “दर खाने” परम्परा साधारण घरायसी जमघट भन्दा बढी भव्य भोज र पार्टीमा रूपान्तरण भइसकेको छ।

• सहरमा दर कार्यक्रमहरू महँगो होटल र पार्टी प्यालेसमा हुने गरेका छन्, जहाँ आर्थिक खर्च, सजावट र भव्य मेनुलाई प्राथमिकता दिइन्छ।सात्विक भन्दा पनि दारू र मासु समेत दरको हिस्सा भयेको छ।

• यसले परम्परागत आत्मीयता भन्दा बढी प्रतिष्ठा प्रदर्शन र हैसियत देखाउने अवसरको रूप लिन थालेको छ।

• बजारले पनि “दर स्पेशल” नाममा विशेष परिकार, मिष्टान्न र भोज सामग्री बिक्री गरेर यसलाई व्यावसायिक गतिविधिमा परिणत गरेको छ। यसरी दर खाने मौलिक परम्परा सांस्कृतिक सहकार्य र आत्मीयताको प्रतीक भए पनि आज यसमा पनि भडकिलोपन र बजारिकरणले गहिरो असर पारेको छ। समाजशास्त्रीय दृष्टि- थोर्स्टाइन वेब्लेन (The Theory of the Leisure Class, १८९९) ले भनेझैं, धनी वर्गले आफ्नो विलासिता प्रदर्शन गर्न चाहन्छ र अन्य वर्गले त्यसको अनुकरण गर्छ। तीजमा देखिने महँगो गहना, ब्राण्डेड लुगा, होटल पार्टी र “दर भोज” यही प्रदर्शनमुखी उपभोग (conspicuous consumption) को प्रत्यक्ष उदाहरण हो। ग्याब्रियल टार्ड (Gabriel Tarde) ले समाजको विकास मूलतः अनुकरणबाट हुन्छ भनेका छन्।तीजमा बलिउड शैलीका गीत–नृत्य, ग्ल्यामरस भिडियो र आधुनिक भेषभूषाको अन्धानुकरणले मौलिकता कमजोर बनाएको छ। खुला बजार नीतिको प्रभाव- सांस्कृतिक पर्वहरूलाई बजारले आफ्नो हितमा रूपान्तरण गरेको कुरा तीजमा स्पष्ट देखिन्छ।

• व्यापारीक गतिविधि: तीज आउनु अघिदेखि कपडा, गहना, कस्मेटिक, होटल, मिठाइ पसल र संगीत कम्पनीहरूले छुट र विज्ञापनमार्फत ग्राहक आकर्षित गर्छन्।

• उपभोगवादी संस्कृतिको विस्तार: “तीज स्पेशल” नाममा गीत–भिडियो, भोज–पार्टी, मिष्टान्न, सजावट आदिमा करोडौँ खर्च हुने गरेको छ।हरितालिकाको अबसरमा मौलिक गीत र नृत्य हराउदै गयेका छन।

• जनजीवनमा नकारात्मक असर:

• मध्यम तथा निम्न आयवर्गमा अनावश्यक खर्च र ऋणको दबाब बढ्छ। • शिक्षादेखि स्वास्थ्यसम्मका प्राथमिक आवश्यकता प्रभावित हुन्छन्।

• पर्व आत्मसंयम र भक्ति भन्दा बढी बजार–निर्देशित उपभोगको अवसरमा सीमित हुन्छ। पूर्वीय दर्शन र मान्यता पूर्वीय दर्शनले पर्व–संस्कारलाई आत्मसंयम, सहकार्य र आध्यात्मिक चेतना तथा सामाजिक सहकार्यको माध्यम मानेको छ।

• भगवद्गीता (३.७) : “नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः।” पर्वमा भक्ति र कर्तव्य पालन नै श्रेष्ठ हो।

• मनुस्मृति (२.१७६) : “धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः।” धर्मलाई छाड्दा समाज नै पतनतर्फ जान्छ। तर आजको तीजमा देखिने भडकिलोपन, विलासी “दर भोज” र बजारिकरणले पर्वको वास्तविक धर्म–कर्तव्यलाई कमजोर पार्दै उपभोगवादी संस्कृतिलाई बलियो बनाइरहेको छ।

सांस्कृतिक मौलिकतामा असर

• पूजा, भक्ति र आत्मसंयम पछाडि परेका छन्, प्रदर्शन र खर्च अगाडि आएका छन्।

• परम्परागत “दर खाने” आत्मीयता भव्य भोज र पार्टीले प्रतिस्थापित गरेको छ।

• मौलिक लोकगीत, सामूहिक भेटघाट र सादगी व्यावसायिक र ग्ल्यामरस गतिविधिले विस्थापित गरेका छन्।

• सहर र गाउँबीचको सांस्कृतिक खाडल बढ्दै गएको छ।

• जनजीवनमा आर्थिक बोझ र असमानता बढ्दै सामाजिक तनाव सिर्जना भइरहेको छ।

निष्कर्ष तीज पर्व मूलतः भक्ति, सादगी र आत्मसंयममा आधारित थियो। तर आज यो पर्वमा भडकिलोपन, वर्गीय विभाजन, अनुकरणवाद, बजारिकरण र विलासी “दर भोज” हावी छन्। समाजशास्त्रीय दृष्टिले हेर्दा यसले सामाजिक असमानता र प्रतिस्पर्धा बढाएको छ भने पूर्वीय दर्शनका मान्यताले भनेझैं धर्म–कर्तव्य र संयमलाई कमजोर बनाएको छ। यसरी हेर्दा, तीजलाई यसको मौलिक स्वरूप—भक्ति, संस्कार र सामूहिक सहकार्यमा फर्काउने प्रयास नगरी पर्व भविष्यमा केवल फैशन, उपभोग र हैसियत प्रदर्शनको दिनको रूपमा मात्र बाँकी रहने खतरा छ।

जगदीश ओझा
भीमदत्त नगरपालिका–५ महेन्द्रनगर कञ्चनपुर

Leave A Reply

Your email address will not be published.