बैतडी – अजयमेरु गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। अजयमेरु गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो।
अजयमेरु–३ को भद्रपुर माविमा सम्पन्न उक्त शिविरमा ७९ जनाले चेकजाँच तथा उपचार सेवा लिएका छन्। शिविरमा ४३ जनाको मोतिबिन्दु र ८ जनाको मासु पलाएको गरी ५१ वृद्धवृद्धाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालले जानकारी दिनुभयो ।
‘गाउँपालिकाले वैशाख १६ गतेदेखि २४ गतेसम्म संचालन गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा आँखा चेकजाँच गर्दा मोतिबिन्द र आँखामा मासु पलाएका बिरामीहरू भेटिनुभएको थियो,’ उनले भने,‘उहाँहरूको उपचार गर्नका लागि यो निःशुल्क आँखा शिविर आयोजना गरेका हौं।’
आँखाको समस्य भएका उपचारको लागि टाढा जान नसक्ने वृद्धवृद्धा, असाय, अशक्तको लागि गाउँमै सेवा दिने उद्देश्यले निःशुल्क आँख शिविर संचालन गरिएको गाउँपालिका उपाअध्यक्ष बसन्ती पालले बताउनु भयो। गाउँमै आँखाको चेकजाँच तथा शल्यक्रिया सेवा पाएपछि त्यहाँका वृद्धवृद्धा निकै खुसी भएका छन्।