बैतडीमा लामखुट्टे मार्ने अभियान सञ्चालनमा

बैतडी -बैतडीमा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ। डेंगु रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अभियान सदरमुकामबाट सुरु भएको हो। डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहीलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। उनले भने, ‘पहाडी जिल्लामा पनि डेंगुको जोखिम बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि यो अभियान थालेका हौं।’

पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको हो।

साँझबिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगु संक्रमण भएमा ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा बिमिरा देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखापर्छन्।

Leave A Reply

Your email address will not be published.