निर्माण व्यवशायी चन्दको लोभलाग्दो बाख्रापालन

पाँच करोडको लगानी, छ जनालाई रोजगारी

बैतडी -बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवशायी सुरेश चन्द बाख्रापालन शुरु गरेका गर्नुभएको छ । चन्दले ग्वाल्लेकमै बाख्रा फार्म निर्माण गरेर भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवशाय शुरु गर्नुभएको हो ।
ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालक समेत रहनुभएका चन्दले थाल्नुभएको बाख्रापालन लोभलाग्दो रहेको छ । बाख्रापालन व्यवशायका लागि पाँच करोडको लगानी भइसकेको चन्दले बताउनुभयो । फार्ममा हाल १५० बढी उन्नत जातका बाख्रा रहेका छन् । भारतको राजस्थानबाट ल्याइएको सिरोही ,तोतापरी, अजमेरी,बोयर,गुज्री जातका बाख्रा फार्म सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यस्तै फार्ममा रहेको सिरोही जातको ‘भीम’ नाम गरेको बोका समेत रहेछ । उक्त बोकाको तौल १८० किलो रहेको चन्दको भनाई छ । उहाँले भन्नुभयो,“ पाँच÷छ उन्नत जातका बाख्राहरु पालन गरिएको छ । यी जातका बाख्राहरु छिटो बढ्ने र फाइदा राम्रो हुने भएकोले उक्त जातका बाख्राहरु पालन थालिएको हो । ”
ग्वाल्लेक एग्रो फार्म प्रालि नाम राखेर गत वर्षदेखि स्थानीय खरी जातका बाख्राबाट व्यवशाय शुरु गरेको चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,“ बाख्रा पाल्न चार तलाको आधुनिक पक्की घर निर्माण गरेर गत वर्षदेखि स्थानीय खरी जातका बाख्राबाट व्यवशाय शुरु गरे । भारतको राजिस्थानबाट उन्नत जातका सिरोही र तोतापरी जातका बाख्रा ल्याएर व्यवशाय बढाएको छु । हाल एकसय ५० बाख्राहरु फार्ममा छन् ।”
कम्पनी दर्ता गरेर बाख्रापालन शुरु गरेका चन्दले फार्ममा छ जनालाई रोजगारी समेत दिनुभएको छ । बाख्रा फार्ममा अहिले पुश प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो,“ फार्ममा रहेका बाख्राहरुको बिहान नियमित रुपमा स्वास्थ्य चेकजाँचका लागि पशु प्राविधिक राखेका छौं । बाख्राहरुको स्याहार,सरसफाई तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौं ।” बाख्राहरुलाई बर्खा याममा चरनको समस्या हुने भएकोले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना बाख्रालाई खुवाउने गरिएको छ ।

पेसाले आफू निर्माण व्यवशायी भएपनि गाउँमा रहेका बेरोजगारहरुलाई रोजगारीको अवसर सिर्जना गर्न बाख्रापालन थालिएको बताउनुभयो । रोजगारीकै लागि विदेश जाने युवाहरुको क्रम बढिरहेकोले उनीहरुलाई गाउँमै रोजगारी दिने उद्देश्यले बाख्रा फार्म सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो,“ गाउँमा मलामी र विवाहका लागि युवाहरु भेटिन छोडेका छन् । सबै युवाहरु विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवशाय गरेर पनि रोजगारी सिर्जना गर्न बाखापालन थालिएका हो ।”
गाउँमै रोजगारीको अवसर सिर्जना गरेर तथा परनिर्भरता हटाउन आवश्यक रहेको चन्दले बताउनुभयो । हाल बाख्रापालन व्यवशाय शुरु गरेपछि निकट भविश्यमै कालिज,गाई, भैसी र बंगुर पालन पनि थालिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ मासु र दुधमा आत्मनिर्भर बन्ने उद्देश्यले पशुपालन गर्ने थालिएको हो । पशुपालनबाटै स्वरोजगार बन्ने उद्देश्य हो । ”
आफू निर्माण व्यवशायी भएपनि आफू कृषक पनि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ म निर्माण व्यवशायी भएपनि कृषक पनि हुँ, पैत्रिक सम्पती पनि संरक्षण गर्नका लापिग बाख्रापालन थालेको हुँ । ”
बुवाबाजेको आठसय रोपनी जमिन रहेको र त्यही जमिनको सदुपयोग गर्न पनि बाख्रापालन थालिएको उहाँले बताउनुभयो । पैत्रिक जमिनमा अन्नबाली लगाउँदा जंगली जनावरले सखाप गर्न थालेपछि बाख्रापालन थालिएको हो । उहाँले भन्नुभयो,“बुवाबाजेको आठ सय रोपनी जमिन छ, त्यसको संरक्षण र उपयोग गर्नका लागि बाख्रापालन थालिएको हो। सोहि जमिनमा बाख्राहरुलाई चरनको लागि लग्ने गरिएको छ ।”
नेपाल कृषि प्रधान देश भएपनि कृषि गर्नुपर्छ भन्ने मान्यताले बाख्रापालन थालिएको उहाँले भन्नुभयो । उहाँले भन्नुभयो,“नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ । ”

Leave A Reply

Your email address will not be published.