हलिया मुक्ति घोषणको १५ वर्ष पुरा, साल फेरिए, समस्या फेरिएनन्
भदौ २१ हलिया प्रथाको अन्त्य भएको दिन, अर्थात् मुक्त हलिया दिवस....
बैतडी- हलिया मुक्ती घोषणाको १५ बर्ष पुरा भएको छ । घोषणाका भएको दिनको अवसरमा विहिबार बैतडीमा हलिया मुक्त घोषणा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको आयोजनामा मनाइएको दिवसमा मुक्त हलियाको अवस्थाका बिषयमा अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियाका सहभागीहरुले मुक्त हलियाको अवस्थामा सुधार नभएको बताएका छन । व्यवस्था फेरिएपनि हलियाहरुको अवस्थामा केही सुधार आएको छैन । सरकारमा रहँदा दलहरुले हलिया पुनस्र्थापनाको बाचा गरेपनि चुनावी एजेण्डामा हलियाहरुको मुद्दाले प्राथमिकता नपाएको र मुक्त हलियाहरु अहिले पनि हलियाकै रुपमा काम गर्ने गरेको अधिकारकर्मी बलभद्र दयालले बताए ।
सरकारले बिगतमा मुक्त हलियाको तथ्यांक संकलन गरेपनि अधिकांशको नाम छुटेको उनले बताए । मानव अधिकारकर्मी सरस्वती नेपालीले मुक्त हलियाहरुको पुर्नस्थापनाका लागि सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताइन । उनले जिल्लामा रहेका वास्तवीक मुक्त हलियाहरुको पुनः तथ्यांक संकलन गरेर व्यवस्थापन गर्नुपर्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले विगतमा सरकारले नै पुर्नस्थापना गर्ने भनेका व्यक्तिहरुको पुर्नस्थापना नभएको बताए । उनले भने,‘२०६७ सालमा संकलन गरिएको सरकारी तथ्यांक हेर्दा बैतडीमा ३ हजार १सय ७० जनाको नाम संकलन भएको र जसमध्ये प्रमाणीकरण भएका २हजार २२ जना मध्ये १हजार ५सय ५० जनाको पुर्नस्थापना भएको छ भने, अन्य छुटेका छन । र उतिबेला समेत तत्कालिन १७ गाविसहरुको तथ्यांक संकलन नै नभएको पाइन्छ । त्यसकारण वास्तवीक मुक्त हलियाहरु छुटेको लगायतका समस्याहरु छन ।
पुनः सरोकारवाला निकाय एकै थलोमा बसेर समस्याको समाधानका लागि योजना बनाउनु जरुरी छ ।’ बैतडीमा मुक्त हलियाका सवालहरुलाई २०३६ सालदेखी तत्कालिन अभियन्ता तथा संविधानसभा सदस्य पुरन सिंह दयालको नेतृत्वमा आन्दोलन सुरु भएको थियो ।