बैतडी -बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो। यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
जिल्लामा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा हालसम्म ३३ हजार दुई सय १७ परिवार आबद्ध भएका हुन्। स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार तीन हजार चार सय ८६ परिवारमात्रै शुल्क तिरेर कार्यक्रममा आबद्ध भएका छन् भने अन्य परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ।
उनले भने, ‘निःशुल्क स्वास्थ्य बीमा गरिनेमा ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। उनीहरूको सरकारले नै बीमावापत लाग्ने शुल्क बोर्डलाई तिरिदिन्छ।’
यस्तै २६ हजार सात सय ४० परिवार ज्येष्ठ नागरिक, (क) वर्गका अपाङ्गता भएका व्यक्ति एक हजार ४४ परिवार, तीन सय एक एचआइभी सङ्क्रमित, ५४ कुष्ठरोगी, एक सय २२ एमडीआर टिभी भएका र सात सय ३५ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध रहेका छन्।
स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्मको परिवार सदस्यका लागि वार्षिक तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्ने र त्योवापत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय ५० थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका बोर्डले जनाएको छ।