दोगडाकेदारका मेडिकल सञ्चालक विरुद्ध मुद्धा

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्धा दर्ता भएको छ । गाउँपालिका ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्धा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैध रुपमा सञ्चालन गरिरहेका फेला परेको थियो । अवैध रुपमा मेडिकल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर कृष्णलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरी निरीक्षक खत्रीले भन्नुभयो,“ मेडिकल दर्ता नै नभएको र स्वास्थ्य बिषय नपढेका कृष्णले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं । मुद्धा दर्ता भएर अनुसन्धानका म्याद थप पनि भइसकेको छ ।”
उक्त दिन अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो । मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.