बैतडी ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनुभएको छ । आइतबार ११० औं बिपी जयन्तीको अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा बोल्नुहुदै डा. रिजालले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको बताउदैं उहाँको विचार अनुकरणीय रहेका बताउनुभयो ।
बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र राजनैतिक विचारक मात्रै नभएर साहित्यकार पनि हुनुहुन्थ्यो । डा. रिजालले भन्नुभयो,“ बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो , उहाँका विचार हामी सबैका लागि अनुकरणीय छन् । उहाँले देखाएको मार्गमा हामी सबै हिड्नुपर्छ ।”
प्रशिक्षण कार्यक्रममा डा. रिजालले बिपी राष्ट्रिय विभूतीका रुपमा नभई नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्रका रुपमा रहेका बताउनुभयो । उहाँले भन्नुभयो,“ बिपी नेपालको स्वतन्त्रतालाई मुखारित गर्ने क्रान्तिकारी,सबैभन्दा अप्ठ्यारो कठिन दिनमा पनि आत्त्मविश्वासलाई नगुमाएर निरन्तर संघर्ष गर्ने र संघर्ष गर्दा के का लागि गरेको छु भन्ने नबिर्सिकन काम गर्न सक्ने नेता रहनुभएको थियो । उहाँको विचारलाई सधैं अनुसरण गर्नुपर्दछ । ”
कांग्रेस देशमा सबैभन्दा ठुलो दल भएपनि सेन्स हराएजस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ सेन्स अफ डिरेन्सन हराएको जस्तै कांग्रेस भएको छ । डिरेक्सनको खोजी गर्नुपर्छ । बिपी कोइरालाले कस्तो कांग्रेस बनाउन खोज्नुभएको थियो । त्यो सोच्नुपर्छ ।”
नेपाल तरुण दल बैतडीले बिपीजयन्तीको अवसर पारेर आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा डा.रिजालसंगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द,सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोद हरि गुरागाई,नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टलगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध रहेकाहरुको उपस्थिती रहेको थियो ।
तरुण दललाई डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको तरुण दल बैतडीका कार्यवहाक सभापति महेशदत्त भट्टले बताउनुभयो ।