जिल्लाको भागेश्वर गाउँपालिकामा सार्वजनिक विद्यालय भर्ना अभियान सुरु भएको छ ।नयाँ शैक्षिक सत्रका लागि विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी गाउँपालिकामा विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने मूल नाराका साथ २ गतेदेखि भर्ना अभियान सुरु भएको छ । ‘भर्ना अभियानका लागि प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा टोली नै बनाएका छौं,’ उनले भने, ‘विद्यालय उमेर समूहका कोही पनि बालबालिका भर्नाबाट बञ्चित नहोस् भन्ने उद्येश्यले उत्तः टोली अहिले घरघर पुगिरहेको छ ।’
भारतीका अनुसार गाउँपालिकाले सुरु गरेको भर्ना अभियान सामुदायिक विद्यालय केन्द्रित रहेको छ । भागेश्वर गाउँपालिकाका सार्वजनिक विद्यालयमा दैनिक रुपमा शैक्षिक पाठयोजनाको पैयोग गर्दै पठनपाठन हुने गरेको छ । ‘प्रत्येक कक्षाका लागि शिक्षक लकबुकको व्यवस्था पनि गरेका छौं,’ उनले भने, ‘यहाँ नियमित रुपमा अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन हुन्छ । स्मार्ट टिभीको प्रयोगबाट बालविकास कक्षा सञ्चालन गर्दै आएका छौं । गाउँपालिकाले अन्तर विद्यालय भ्रमणको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।’
भागेश्वर गाउँपालिकाका विद्यालयमा प्रत्येक विद्यार्थीको पोर्टफोलियो पनि निर्माण गर्ने गरिएको छ । यस्तै, गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण, सूचना प्रविधिको प्रयोगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन, अभिभावक भेलामा विद्यार्थीको नतिजा विश्लेषण, प्रत्येक विद्यार्थीका लागि होमवर्क डायरीको व्यवस्था, नियमित रुपमा दिवा खाजाको व्यवस्था लगायतका सेवाहरु भागेश्वर गाउँपालिकाले विद्यालयहरुमा पनि दिइरहेको बताइएको छ ।