बैतडी-डडल्धुराको अजयमेरु गाउँपालिका-५ ले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ ।यसका लागि सीपमूलक तालिम सञ्चालन गरिराखेको छ ।
महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस भन्ने ध्येयले सीपमूलक तालिम सञ्चालमा प्राथमिकता दिएको अजयमेरु गाउँपालिका वडा न-५ का वडा अध्यक्ष राज पालले बताए ।हाल वडा नं- ५ मा एक महिने होजियारी सीप विकास तालिम सञ्चालनमा छ ।
मेशिनबाट स्विटर, टोपि लगायतका सामग्री बुनाई, लगायतको सिप सिकाईबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले विभिन्न सिप विकास तालिमहरु संचालन गरिरहेको वडा अध्यक्ष पालले बताए ।
आम्दानी दिने खालका काममा सामान्य सिप समेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले उनीहरुलाई सिप विकासको तालिम दिन वडा कार्यालय लागि परेको उनको भनाई छ।
होजियारी तालिम जीवन उपयोगी हुने भएकाले नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको हो ।उनले भने ‘सीपले मानिसलाई स्वरोजगार बनाउनमा मद्दत पुग्छ, श्रम र सीपले आयआर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुन्छ ।’
तालिममा वडाभरिका ३० महिलाहरुको सहभागिता रहेको थियो ।