बैतडी -जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार जिल्लाको भागेश्वर गाउँपालिका–४ बगरकोटको सभाहलमा प्रमुख जिल्ला अधिकारी,प्रमुख अनुसन्धान अधिकृत, प्रहरी, पालिकाका प्रतिनिधीहरु, स्थानिय नागरिक, पत्रकार लगायतको सहभागितामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको जिप्रका डडेल्धुराले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, मदिरा नियन्त्रणका लागि अन्य जिल्ला संगका सीमानाकामा कडाइ, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, घरेलु हिंसा, दुर्घटना न्यूनीकरण लगायतका विषयमा प्रहरीले निर्मम भएर लाग्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा भागेश्वर–३ का वडा अध्यक्ष डम्बरराज जोशीले प्रहरीले गर्ने सचेतनामुलक कार्यक्रमको प्रशंसा गरे । उनले मदिरा सेवन गरी गाउँ समाजमा भईरहेका घरेलु हिंसा न्यूनिकरणका लागि मदिरा नियन्त्रण हुनु जरुरी रहेको उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष हेमराज चटौतले चोरी, डकैती तथा अन्य अपराध नियन्त्रणका लागि सिसि क्यामेरा आवस्यक रहेको महशुस गरेको भन्दै प्रहरीको साझेदारीमा शान्ती सुरक्षाको अवस्था हेरेर पालिकाभित्रका केही स्थानहरुमा सिसि क्यामेरा जडान गर्ने तयारीमा रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक९डिएसपी० दिपक कुमार कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले बिभिन्न सचेतनाका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाए । चालु आ।व।मा जिल्ला भरी आठ सय ७६ वटा कार्यक्रम सम्पन्न गरिसकेको जनाउदै भागेश्वर गाउँपालिका भित्र मात्र ८६ वटा कार्यक्रम भएको बताए ।
डिएसपी कार्कीले प्रहरीको सचेतनामुलक कार्यक्रमले समुदायमा अपराधिक क्रियाकलापमा न्यूनिकरण आएको दाबी गरे । उनले समुदाय स्तरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतका बिभिन्न समितिहरु रहेको जानकारी दिदै ति समितिहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए । उनका अनुसार भागेश्वर गाउँपालिका भित्र पाँच वटा वडा समिति, १४ वटा बिद्यालय समिति र १८ वटा टोल समिति गरी ३७ वटा समिति रहेका छन ।
प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सभ्य समाज बनाउन प्रहरी र समुदाय दुवैले सक्रियता देखाउनुपर्ने बताए । सुरक्षित समाजका लागि प्रहरी सँग समुदायको सहकार्य उल्लेखनीय रहने भन्दै उनले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताए । उनले समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताए ।
नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले प्रहरीले प्रत्येक पालिकामा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएका गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने डडेल्धुरा प्रहरीले जनाएको छ ।