बैतडी-डडेल्धुराको भागेश्वर गाउँपालिकाले कात्तिक २९ गते सार्वजनिक बिदा दिने भएको छ। भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिने गाउँपालिकाले जनाएको छ ।
कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका दिन राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर धुरामा भब्य मेला लाग्ने गर्दछ। सोही मेलाको अवसरमा भागेश्वर गाउँकार्यपालिकाको कात्तिक २७ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष हेम राज चटौतले जानकारी दिनुभयो ।
कात्तिक २९ गते विहिबारका दिन भागेश्वर गाउँपालिका क्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यसंस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहका सवै संघसंस्थाहरु बन्द रहने उनले बताउनुभयो।
समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो। भागेश्वर देवताको दर्शन गर्न शुदुरपश्चिमका नौ वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन ।
भागेश्वर मन्दिरमा नजिकै सम्म सडक सञ्जालले छोएपछि धर्मालम्बी हरुलाई निकै सहज भएको छ। भागेश्वर देवताको नामबाट भागेश्वर गाँउपालिकाको नामाकरण पनि गरीएको छ।
